Showing posts with label लोक छन्दका गजलहरू. Show all posts
Showing posts with label लोक छन्दका गजलहरू. Show all posts

गजलः कहाँ होला

गजलः कहाँ होला ?
¤आवाज शर्मा¤

आफ्नै मन भन्दा ठूलो खूनी सैतान कहाँ होला ?
म खोज्दैछु त्यही मन चिन्ने विद्वान कहाँ होला ??

साह्रै रीस उठेको छ भेटे देखि झाँको झार्थेँ ।
असमान भाग्य लेख्ने भावी बैमान कहाँ होला ?

बाटो उस्तै घुम्ती हो कि मेरो भाग्य घुमेको हो ?
लक्ष्य देख्छु अल्मलिन्छु म झै अञ्जान कहाँ होला ?

तिमी भन्छौ सजिलै छ, एउटा स्वप्न टुटेपनि ।
फेरि अर्को सजाउन किन्ने दोकान कहाँ होला ??

पराइले छल गरेमा सयौँ बाटा जोगिनैलाई ।
आफैसँग बच्न सकोस् त्यस्तो महान कहाँ होला ??
24/05/2012

गजलः किन होला ?

गजलः किन होला ?
¤आवाज शर्मा¤

बोल्न पा'को छैन अझै मनले खा'को किन होला ?
जति बिर्सूँ भन्छु उस्कै याद आ'को किन होला ??

नजिक जाऊँ तर्किहाल्छे, बोल्न खोज्यो झर्किहाल्छे ।
नदेखे सास फेर्नै गाह्रो यस्तो भा'को किन होला ??

आफ्ना गाई गोठमैँ छन् बाख्रापाठा चोटामैँ छन् ।
बिनासित्ती लुकी लुकी बेँसी धा'को किन होला ??

बाटो ढुकूँ ढुकूँ लाग्ने. देखे लुकूँ लुकूँ लाग्ने ।
क्यै इशारा हो कि त झैँ पात बजा'को किन होला ??

सुरै छाडे सरी हिड्छु, बिना बित्थै छटपटिन्छु ।
'बाला' मनै दोमन हुने, के बिमारी ला'को होला ??
19/05/2012

गजलः यो गरूँला त्यो गरूँला

गजलः यो गरूँला
¤आवाज शर्मा¤

यो गरूँला त्यो गरूँला स्वप्न ठूला ठूला थिए ।
आज चित्ता माथि बस्दा ती दुबै हात खुला थिए ।।

हो, कसैको आश टुट्यो र कसैको गास छुट्यो ।
यता चित्ता जल्दै गर्दा उता चिसा चुला थिए ।।

हिजोसम्म दुनियाँको सामू झुक्दै बाच्नुपर्थ्यो ।
आज ऊ नै माथि थियो अरू भैँका धुला थिए ।।

उस्ले जित्यो मृत्युलाई अब मर्नु पर्दैन ऊ ।
ऊ शान्त र स्थिर थियो अरूका पाउ लुला थिए ।
12/05/2012

गजलः जयगान

गजलः कुरा होस् न !
¤आवाज शर्मा¤

जयगान उस्कै थियो चाहे हातमा छुरा होस् न !
त्यो जुंगाको कदर हुन्थ्यो बोलेपछि पुरा होस् न !!

खडेरीको बालुवामा व्यर्थै पानी राखिएछ ।
पसिनाले पाउँथ्यो न्याय मानो रोपी मुरा होस् न !!

निर्लज्ज भै किन गरूँ तारिफ नग्न शरीरको ?
फेशन आफ्नै साडी, चोलो, पोते, टीका, चुरा होस न !!

बासी पुराण जस्ता लाग्छन् पिरतीका कथाहरू।
कैल्यै पनि नसुनेको नभनेको कुरा होस् न !!

तिमी भन्छौ क्यै बोलेन, यो मौनता कैले सम्म ?
खुल्थ्यो आवाज, नरित्तिने प्यालाभरि सुरा होस् न !
15/05/2012

गजलः बिधाताले

गजलः बिधाताले
¤आवाज शर्मा¤

अस्तित्वको युद्ध चल्यो गुहार माग्यो विधाताले ।
सबैभन्दा मुर्ख आफ्नै नाम राख्यो विधाताले ।।

लुट्यो चोर्‍यो ढाँट्यो ठग्यो डरायो र मन्दिर पस्यो ।
सिक्का राखी ढोग्दा उस्ले भीख ठान्योविधाताले ।।

मिल्किएको ढुंगो टिपी फूल चढायो बटुवाले ।
त्यहीँ परेवा बलि दिदा विवेक माग्यो विधाताले ।।

पाखण्डी र आडम्बरी भक्तहरू गला थिच्छन् ।
इमान्दार को ? प्रश्न उठ्दा नास्तिक छान्यो विधाताले ।।
20/09/2011

गजलः साथीले भन्यो

गजलः साथीले भन्यो
¤आवाज शर्मा¤
¤
पाइला पाइला चुनौति छ साथीले भन्यो ।
काँढा नै त जिन्दगी हो बागीले भन्यो ।।
¤
मैले बल्दा मात्र न हो तिम्रो उज्यालो ।
म निभ्छु र सबै निभ्छ बातीले भन्यो ।।
¤
बाँचे मात्र यो संसार देख्न पाइन्छ ।
गीता छोई ढाँट्छु अचेल साक्षीले भन्यो ।।
¤
तिमी मेरो भर परेर चढ्छौ डुंगामा ।
मैले सँधै देवी भाक्छु माझीले भन्यो ।।
¤
ऐले आराम गर अझै तिम्रो पालो छ ।
भरे छानो उडाउँछु आँधीले भन्यो ।।
31/12/2011

गजलः सँगै हो नि

गजलः सँगै हो नि
¤आवाज शर्मा¤

माया भन्नु बत्ती न हो लोभिने त सँगै हो नि !
पर्ख पर्ख हे पुतली होमिने त सँगै हो नि !!

यिनै दुई नजरभित्र हजार आशा बाँचेका छन् !
कतै हाँसो कतै आँशु पोखिने त सँगै हो नि !!

सपनाको सानो गाउँ त्यहीँ हाम्रा रहर फुल्छन् !
बस्तीभित्र कुहिरो पसे छोपिने त सँगै हो नि !!

कुनै मेरा कुनै तिम्रा केही दोष यो समाजका !
दुख्दा छाती तोडिँदा मन तोडिने त सँगै हो नि !!

कहाँ सम्म कुद्ने रै छस् ए जिन्दगी म भन्दा तँ !
धुक्धुकीको चाल रुक्दा रोकिने त सँगै हो नि !!
08/12/2011

गजलः नहोस् बरू

गजलः नहोस् बरू
¤आवाज शर्मा¤
¤
यस्तो बिमार चढे हुन्थ्यो निदान नहोस् बरू ।
पाउ राख्ने ठाउँ मिलोस् सिरान नहोस् बरू ।
¤
आकासका तारा गन्दै झर्दा सँगै झरूँ ।
मलाई त्यो रात देऊ बिहान नहोस् बरू ।।
¤
सजायँ देऊ म सहन्छु ऐया भन्ने छैन ।
को हो दोषी के हो दोष किटान नहोस् बरू ।।
¤
तिम्रा हुकुम मेरो निम्ति अक्षर ढुंगामा झैँ ।
चल्छ, चल्छु, नियम कानुन बिधान नहोस् बरू ।।
¤
सक्छौ भने यस्तो हान्नू आवाज निस्सासियोस् ।
घाउ लागोस् कलेजीमै निशान नहोस बरू ।।
25/11/2011

गजलः नरम हुन्छ

गजलः नरम हुन्छ
¤आवाज शर्मा¤

जति साह्रो हान्छौ मुटु त्यत्ति नरम हुन्छ मेरो ।
मुस्कुराउँछु जब त्यही चोट मलम हुन्छ मेरो ।।

मेरो भक्ति मेरो पूजा केवल तिम्रै बरिपरी ।
तिम्रो नाउँ सम्झी आफ्नो घरमा कदम हुन्छ मेरो ।।

अचानो झै बिनादोष छिया छिया बनाएसी ।
बल्ल 'हारेँ' भन्छौ जब ब्यर्थै सरम हुन्छ मेरो ।।

सबै भन्छन् सँधै हाँस्छ्यौ के राज हो यो खुशीको
उजेलीमा आँशु थाम्ने कडा नियम हुन्छ मेरो ।।

साथीहरू सित कुनै गुनासो र द्वेश छैन ।
साँच्चै भनूँ, आफ्नासित अपेक्षै कम हुन्छ मेरो ।।
07/10/2011

गजलः बा

गजलः बा
¤आवाज शर्मा¤

शान्तिको बिहानी, उदाउँछ कि बा ?
लाटाले मालसिरी, सुनाउँछ कि बा ?

आँङ चैँ बसेकै हो, पेट नि खसेकै हो ।
यसपाली त गोरु, बियाउँछ कि बा ?

पराल फालेकै हो, दाना हालेकै हो ।
घोडाको सिङ कतै, पलाउँछ कि बा ?

झिँजा जोरेकै हो, सलाई कोरेकै हो ।
पानीमा डढेलो, लगाउँछ कि बा ?

दूरी नापेकै हो, खुट्टा थापेकै हो ।
हुटिट्याउँले सगर, अड्याउँछ कि बा ?
30/09/2011

गजलः साँझ नपर्दै

गजलः साँझ नपर्दै
¤आवाज शर्मा¤

छट्पटिन्छु हरेक पलपल साँझ नपर्दै
त्यसै त्यसै लाग्छ तलतल साँझ नपर्दै

बिर्सूँ भन्दा बिर्सनेकै याद बल्झियो
उस्कै तश्वीर देख्छु झलझल साँझ नपर्दै

कोल्टे फेर्दै बिते मेरा रात बिराना ।
चस्स घोच्छ बिझ्छ मलमल साँझ नपर्दै ।।

उकुसमुकुस हुन्छु जब न्याउली झुराउँछे ।
पसिनाले रुझ्छु खलखल साँझ नपर्दै ।।

माकुरीले जाल बुनेछ हिड्ने बाटोमा ।
जीवन यात्रा भयो दलदल साँझ नपर्दै ।।
09/09/2011

गजलः किन होला रातभरि

गजलः रातभरि
¤आवाज शर्मा¤

यी आँखामा साउने झरी किन होला रातभरि ?
पोल्छ छाती घरी घरी किन होला रातभरि ??

कोल्टे फेर्दै छट्पटिन्छु निद्रा अझै पर भाग्छ ।
ताना चल्छन् नानाथरी किन होला रातभरि ??

उता जोडी बाँधिएर कोइलीले गीत गाउँछ ।
यता एक्लै रुन्छे चरी किन होला रातभरि ??

जहाँ दिउँसै रात पर्छ उज्यालोमै हुचील बास्छ ।
पराइ बन्छन् आफ्नै धरी किन होला रातभरि ??

हेर्दा हेर्दै तारा खस्यो आकास कहाँ रित्तियो र ?
जीवन मृत्यु सरिबरी किन होला रातभरि ??

यौटा आवाज निस्सासिन्छ अर्को आवाज बिलाउँछ ।
सन्नाटा छ वरिपरी किन होला रातभरि ??
05/09/2011

गजलः साँझ ढलेपछि

गजलः साँझ ढलेपछि
¤आवाज शर्मा¤

निस्सासिँदो हूरी चल्छ साँझ ढलेपछि ।
किस्तावन्दी जीवन ढल्छ साँझ ढलेपछि ।।

दीयो हेर्दै टोलाउँछु बतास बौलाउँछ ।
सलेदो झैँ आशा जल्छ साँझ ढलेपछि ।।

ऐँजेरू झै सम्बन्धका पत्र केलाउँदै ।
बाँझो रहर पाक्छ गल्छ साँझ ढलेपछि ।।

समर्पणको हिसाव गर्छु देख्छु मात्रै
घाटा
आस्था झुक्छ तृष्णा फल्छ साँझ
ढलेपछि ।।

एउटा आगो निभाउन हजार राँका झोस्छु ।
प्याला भित्रै सागर बल्छ साँझ
ढलेपछि ।।

उता बत्ती धिप्प निभ्छ यता आवाज सुक्छ

मृत्यु आउँछ ढाँट्छ छल्छ साँझ
ढलेपछि ।।
02/09/2012

गजलः रोएको छु

गजलः रोएको छु
¤आवाज शर्मा¤

कैले दुख्दै रोएँ कैले दुखाउँदै रोएको छु
कैले झुक्दै रोएँ कैले झुकाउँदै रोएको छु

नियतीका प्रहारसँगै कैले यता कैले उता
कैले जुध्दै रोएँ कैले जुधाउँदै रोएको छु

छातीभित्रै आगो बल्दा उसिनिने मन मेरो
कैले बुझ्दै रोएँ कैले बुझाउँदै रोएको छु

एउटै नदी साझा डुङ्गा कोशौ टाढा दुइटा मन
कैले डुब्दै रोएँ कैले डुबाउँदै रोएको छु

बाँधिएर जुगैभरी पराइको अँगालोमा
कैले लुट्दै रोएँ कैले लुटाउँदै रोएको छु
24/08/2011

गजलः नेपालीको

गजलः नेपालीको
¤आवाज शर्मा¤

सीमा मिच्यो दशगजामा बास थियो नेपालीको ।
पसिनाको कमाइ लुट्यो गास थियो नेपालीको ।।

हत्कडी हो फेरिएको मात्र जेल हो सारिएको ।
साँच्चै रिहा हुन्छु भन्ने आश थियो नेपालीको ।।

मझधारमा पुग्दैखेरी जानाजानी डुँगा डुब्यो ।
मर्‍यो भनी छाडेपनि सास थियो नेपालीको ।।

केटाकेटी जस्तै गरी आगो खेले रमितेले।
घर जलेर खरानीको रास थियो नेपालीको ।।

खस मधेसी जनजातीको भोज चल्दै थियो यता ।
त्यहीँ कतै छियाछिया लास थियो नेपालीको ।।
14/07/2011

गजलः गजल भयो

गजलः गजल भयो
¤आवाज शर्मा¤
.
चुपचाप चुपचाप ठूलै दहल फसल भयो ।
भयो मौन हस्तक्षेप निजत्वमा दखल भयो ।।

कतै तर्के बहानामा झुके आँखा कतै कतै।
थियो केही एक अर्कामा अझै चासो अटल भयो ।।

जुर्मुराए रहरहरू बन्द ओँठ भित्रै गुम्से ।
आँखाहरू नजानिदो जुधे नयाँ पहल भयो ।।

गरिब छन् रे शब्दहरू चाहनाका अर्थभन्दा ।
चुपचाप सम्झौता भो हिउँ पग्ल्यो तरल भयो ।।

उसले सोधी भित्र कतै गुञ्जिदैछ सुन्यौ आवाज ?
मैले केवल ओँठ खोलेँ उसले भनी गजल भयो ।।
04/07/2011

गजलः नभेटिन सक्छ

गजलः नभेटिन सक्छ
¤आवाज शर्मा¤

बह जम्ने मनको खाडल नभेटिन सक्छ ।
वर्षा हुन्छ तर बादल नभेटिन सक्छ ।

हरेक पटक निशानामै तीर चलेको छ ।
भित्री घाउ हो बाहिर घायल नभेटिन सक्छ ।।

हरेक साँझ प्रतिक्षामा नबर्सिनू आँखा ।
सँधै आशु पुछ्ने आँचल नभेटिन सक्छ ।।

म नै रुन्छु तिमी नरोऊ श्रृङ्गार बिग्रिएला ।
त्यो आँखामा मिल्ने गाजल नभेटिन सक्छ ।।

चुँडिएको मन जोड्न सक्छौ भने जोड ।
यति माया गर्ने पागल नभेटिन सक्छ ।।
30/06/2011

गजलः उल्झन भेटेँ मैले

गजलः उल्झन भेटेँ मैले
¤आवाज शर्मा¤

हजार बाटा सबै तिर उल्झन भेटेँ मैले ।
आफैभित्र नअटेको त्यो मन भेटेँ मैले ।।

आफ्नै क्रुर अभिष्टलाई नचिनेर रोजै ।
आफैलाई बली दिने सज्जन भेटेँ मैले ।।

भीड बीच एक्लो हुनु एक्लै एक्लै हाँस्नु ।
आफ्नै आकास आफ्नै लागि कफन भेटेँ मैले ।।

साँचो माया बाँधिएन परिभाषा भित्र
ब्याख्या गर्दै रुँने लाखौँ जीवन भेटेँ मैले ।।

मलाई मेरै आँट माथि ठूलो गौरब थियो ।
कहालिएँ आँखै अघि दर्पन भेटेँ मैले ।।

02/06/2011

गजलः रुँदैछु म आज

गजलः रुँदैछु म आज
¤आवाज शर्मा¤

आफैलाई टाढा छोडी रुँदैछु म आज ।
रुन्न भन्दै बाचा तोडी रुँदैछु म आज ।।

मौका पर्दा कौडी पनि नछोडूँ झैँ लाग्यो ।
बेमौकामा हिरा फोडी रुँदैछु म आज ।।

उज्यालोले पोल्छ भन्दै बहानामा बाँचे ।
अँध्यारोमा यात्रा मोडी रुँदैछु म आज ।।

फूल मलाई बिझाउँथ्यो कपास साह्रो लाग्थ्यो ।
पछुतोका काँढा गोडी रुँदैछु म आज ।।

हिजो साँझ तिम्रै अघि तिम्रो तश्वीर च्यातेँ ।
तिनै टुक्रा टुक्रा जोडी रुँदैछु म आज ।।
04/05/2011

गजलः उनी थिइन्

गजलः उनी थिइन्
¤आवाज शर्मा¤

बाँधिएथ्यौँ अँगालोमा करेलीमा उनी थिइन् ।
त्यहीँ थियो चोखो माया भरेलीमा उनी थिइन् ।।

गाई बाख्रा चराउँदै सालैजोमा कुरा गर्थ्यौँ ।
चुल्ठो माथि बुकी उन्दा टरेलीमा उनी थिइन् ।।

सँगै गर्थ्यौ लेक बेशी सँगै जान्थ्यौ मेलापात ।
अर्म पर्म सँगै थियो परेलीमा उनी थिइन् ।।

तिर्सना भै मोतिदाना पसिना झै तप्प झर्थे ।
सँगै होस्टे हैँसे गर्थ्यौँ झरेलीमा उनी थिइन् ।।

अझै पनि ताजा पाउँछु झझल्कोमा 'बाला'पन ।
नमेटिने सम्झनाका तरेलीमा उनी थिइन् ।।
24/04/2011