गजलः कहाँ होला

गजलः कहाँ होला ?
¤आवाज शर्मा¤

आफ्नै मन भन्दा ठूलो खूनी सैतान कहाँ होला ?
म खोज्दैछु त्यही मन चिन्ने विद्वान कहाँ होला ??

साह्रै रीस उठेको छ भेटे देखि झाँको झार्थेँ ।
असमान भाग्य लेख्ने भावी बैमान कहाँ होला ?

बाटो उस्तै घुम्ती हो कि मेरो भाग्य घुमेको हो ?
लक्ष्य देख्छु अल्मलिन्छु म झै अञ्जान कहाँ होला ?

तिमी भन्छौ सजिलै छ, एउटा स्वप्न टुटेपनि ।
फेरि अर्को सजाउन किन्ने दोकान कहाँ होला ??

पराइले छल गरेमा सयौँ बाटा जोगिनैलाई ।
आफैसँग बच्न सकोस् त्यस्तो महान कहाँ होला ??
24/05/2012

गजलः किन होला ?

गजलः किन होला ?
¤आवाज शर्मा¤

बोल्न पा'को छैन अझै मनले खा'को किन होला ?
जति बिर्सूँ भन्छु उस्कै याद आ'को किन होला ??

नजिक जाऊँ तर्किहाल्छे, बोल्न खोज्यो झर्किहाल्छे ।
नदेखे सास फेर्नै गाह्रो यस्तो भा'को किन होला ??

आफ्ना गाई गोठमैँ छन् बाख्रापाठा चोटामैँ छन् ।
बिनासित्ती लुकी लुकी बेँसी धा'को किन होला ??

बाटो ढुकूँ ढुकूँ लाग्ने. देखे लुकूँ लुकूँ लाग्ने ।
क्यै इशारा हो कि त झैँ पात बजा'को किन होला ??

सुरै छाडे सरी हिड्छु, बिना बित्थै छटपटिन्छु ।
'बाला' मनै दोमन हुने, के बिमारी ला'को होला ??
19/05/2012

गजलः खण्डहर नयाँ नयाँ

गजलः खण्डहर नयाँ नयाँ
¤आवाज शर्मा¤

भेट्छौँ जहाँ विवेकका यी खण्डहर नयाँ नयाँ ।
बन्छन् त्यहीँ अमानवी ठूला शहर नयाँ नयाँ ।।

पासै न हो, र माकुरी बुन्दैछ जाल फँसाउन ।
ऊ माहुरी फँस्यो बरै पाल्दै रहर नयाँ नयाँ ।।

देख्दैछु त्यो, तिमी, म, ऊ, हामी सबै जहीँतहीँ ।
तृष्णा छ यो अचम्मको पिउँछौँ जहर नयाँ नयाँ ।।

देखिन्छ जे अगाडि नै, भेटिन्न त्यो यथार्थमा ।
हामी सबै रहस्यका हौँ अंश-हर नयाँ नयाँ ।।

आवाज धरी कहालिँदो, हूचील सँधै कराउँछ ।
भोग्नै छ झन, अझै अनेक काला प्रहर नयाँ नयाँ ।।

SSIS ISIS SSIS ISIS
बहरः रजज मुसम्मन मख्बून
19/05/2012

गजलः यो गरूँला त्यो गरूँला

गजलः यो गरूँला
¤आवाज शर्मा¤

यो गरूँला त्यो गरूँला स्वप्न ठूला ठूला थिए ।
आज चित्ता माथि बस्दा ती दुबै हात खुला थिए ।।

हो, कसैको आश टुट्यो र कसैको गास छुट्यो ।
यता चित्ता जल्दै गर्दा उता चिसा चुला थिए ।।

हिजोसम्म दुनियाँको सामू झुक्दै बाच्नुपर्थ्यो ।
आज ऊ नै माथि थियो अरू भैँका धुला थिए ।।

उस्ले जित्यो मृत्युलाई अब मर्नु पर्दैन ऊ ।
ऊ शान्त र स्थिर थियो अरूका पाउ लुला थिए ।
12/05/2012

गजलः जयगान

गजलः कुरा होस् न !
¤आवाज शर्मा¤

जयगान उस्कै थियो चाहे हातमा छुरा होस् न !
त्यो जुंगाको कदर हुन्थ्यो बोलेपछि पुरा होस् न !!

खडेरीको बालुवामा व्यर्थै पानी राखिएछ ।
पसिनाले पाउँथ्यो न्याय मानो रोपी मुरा होस् न !!

निर्लज्ज भै किन गरूँ तारिफ नग्न शरीरको ?
फेशन आफ्नै साडी, चोलो, पोते, टीका, चुरा होस न !!

बासी पुराण जस्ता लाग्छन् पिरतीका कथाहरू।
कैल्यै पनि नसुनेको नभनेको कुरा होस् न !!

तिमी भन्छौ क्यै बोलेन, यो मौनता कैले सम्म ?
खुल्थ्यो आवाज, नरित्तिने प्यालाभरि सुरा होस् न !
15/05/2012