गजलः फेरि अर्कै

गजलः फेरि अर्कै
¤आवाज शर्मा¤

पर्‍यो त्यै कुराको प्रभाव फेरि अर्कै ।
थियो फेरिएको नकाव फेरि अर्कै ।।

हिजै साँझ यौटा कुनै प्रश्न सोधेँ ।
दियौ मौनताले जवाव फेरि अर्कै ।।

नदेख्दा त लाग्थ्यो म संगै छ छायाँ ।
म देख्दैछु घामको लगाव फेरि अर्कै ।।

नशा भित्र बग्ने नशा मैँ छ भट्टी ।
हरेक साँझ भेट्छौ बहाव फेरि अर्कै ।।

म बोलेर थाकेँ जवाव छैन केही ।
नबोली बस्यौ झन् दबाव फेरि अर्कै ।।

खबर के छ 'बाला'? थियो सुस्त आवाज ।
बढ्यो धुक्धुकीमा तनाव फेरि अर्कै ।।
15/06/2012
जन्मदिन

गजलः कोही अचम्म

गजलः कोही अचम्म
¤आवाज शर्मा¤

सँगसँगैको छोडियो कोही अचम्म ।
झन् बिरानो रोजियो कोही अचम्म ।।

शीत पर्दा पातमा टल्क्यो जवानी ।
घामसंगै चोरियो कोही अचम्म

फूलको बास फैलिँदा पाखा पखेरी ।
माहुरी झैँ लोभियो कोही अचम्म ।।

पिंजडा पो रै छ मन् खुल्ला नखुल्ला ।
चूनरीमा छोपियो कोही अचम्म ।।

सिर्सिरेमा के उड्यो मेरो पछ्यौरी ।
रंग बन्दै पोखियो कोही अचम्म ।।
(रमल)
13/06/2012

गजलः फेर्ने हो कि !

गजलः फेर्ने हो कि !
¤आवाज शर्मा¤

हामी जहाँ टेक्छौ उक्त आधार पो फेर्ने हो कि !
सोचाइको यो संकीर्ण संसार पो फेर्ने हो कि !!

चल्दैछ जुन पाखण्डी र आडम्बरी सत्तामोह ।
दोषी भए सिंगै राज्य, सरकार पो फेर्ने हो कि !!

त्यो जङ्गली उस्को न्याय त्यो क्रुरता त्यै आतङ्क ।
लौ मुक्ति भो भन्थ्यो फेरि तरवार पो फेर्ने हो कि !!

निर्लज्ज भै निर्धो लुट्छ भन्दैछ ऊ सेवामा छु ।
राजनीतिको गन्धे रूप व्यापार पो फेर्ने हो कि !!

भत्काउँदै थोत्रो रीति कोर्छौँ युगीन् नौलो चित्र
खाँचो छ यो सोँचको जीर्ण औजार पो फेर्ने हो कि !!
(मुन्सरेह)
12/06/2012

गजलः सम्झनामा कोही छ

गजलः सम्झनामा कोही छ
¤आवाज शर्मा¤
 ॰
 सम्झनामा कोही छ ऊ जिउन एउटा आधार हो ।
भूल होस् या तृष्णा कुनै, लाग्छ साँच्चै यो प्यार हो !

 पर्ख, दीयो बल्दैथियो त्यै निभाई के खोज्दछौ ?
जे निभ्यो त्यो माया थियो देखिएको ब्यापार हो ।

हर कदममा भेटिन्छ घात, पाउ आफ्नै टेक्ने गरौँ
रोप्छ भाला माया गरी, यो अनौठो संसार हो ।

को पराई, आफन्त को ? चिन्नु पर्ने पहिलै थियो ।
यै नजरले धोका दियो मन त आफ्नै गद्दार हो ।।

आत्मघाती यो मौनता तोड्नुपर्थ्यो 'आवाज' खै ?
सुन्छु 'बाला' बोल्दैन रे ऊ अधम हो लाचार हो ।।
(मुतदारिक मुसद्दस मक्तुअ मुदाइफ)
10/06/2012

गजलः भोलिसम्म

गजलः भोलिसम्म
¤आवाज शर्मा¤

केही चिरा पार्छु आज जुट्छौ यसै भोलिसम्म
लुट्थ्यौ हिजो त्यै भनेर लुट्छौ यसै भोलिसम्म

मैले भनेँ, या त छोड, या तोड भो, तड्पिदैछु ।
तिम्ले भन्यौ छाडिदिन्छु टुट्छौ यसै भोलिसम्म ।।

ताराहरू भेट्छु साथ मेरा दुखी पलहरूमा ।
आऊ बसौँ यत्ति रात छुट्छौ यसै भोलिसम्म ।।

वर्षा भई बर्सिँदा त फोका बनी उम्लिँदैछौ ।
उन्माद त्यो क्यै रहन्न फुट्छौ यसै भोलिसम्म ।।

SSIS SISI SSIS SISS
बहरे मुजास मक्फूफ
31/05/2012

गजलः यात्रा जहाँ जहाँ

गजलः यात्रा जहाँ जहाँ
¤आवाज शर्मा¤

यात्रा जहाँ जहाँ पुगोस् बल्झाउने म जाल हूँ ।।
त्यो दाउमा छ जिन्दगी हार्ने उही कुचाल हूँ ।

आँखा भदौ बनाउँदै बोल्छन् कथा अतीतका ।
मायालु भै रुवाउने उस्कै चिनो रुमाल हूँ ।।

राखेर मन् लिलाममा किन्दैछु यी गजलहरू ।
आरोप सबै सही थिए मऽ शब्दको दलाल हूँ ।।

तिम्रा सयौँ गुनासोका मैले दिऊँ जवाफ के ?
जे जे गरूँ नसुल्झिने आफै म एक सवाल हूँ ।।

आवाज हूँ दबाउँदा, रोक्दा कहाँ दबिन्छु र ?
आफै जली जलाउने बिद्रोहको मशाल हूँ ।।

SSIS ISIS SSIS ISIS
रमल मुसम्मन मख्बून
28/05/2012