गजलः बा

गजलः बा
¤आवाज शर्मा¤

शान्तिको बिहानी, उदाउँछ कि बा ?
लाटाले मालसिरी, सुनाउँछ कि बा ?

आँङ चैँ बसेकै हो, पेट नि खसेकै हो ।
यसपाली त गोरु, बियाउँछ कि बा ?

पराल फालेकै हो, दाना हालेकै हो ।
घोडाको सिङ कतै, पलाउँछ कि बा ?

झिँजा जोरेकै हो, सलाई कोरेकै हो ।
पानीमा डढेलो, लगाउँछ कि बा ?

दूरी नापेकै हो, खुट्टा थापेकै हो ।
हुटिट्याउँले सगर, अड्याउँछ कि बा ?
30/09/2011

गजलः यहाँ कोही

गजलः यहाँ कोही
¤आवाज शर्मा¤

अरू निभे निभ्न मात्रै बल्छन् यहाँ कोही
नेपथ्यका चालसङ्गै चल्छन् यहाँ कोही

पाए जरा सम्म खन्छन् आफ्नै जमीन् हुन्न
टुप्पातिरै उम्रिएसी ढल्छन् यहाँ कोही

सत्तो सराप ब्यर्थ आरोप नाना कुरा काट्छन्
खाँचो परे पाउ उस्कै मल्छन् यहाँ कोही

कोक्याउँछन् डस्न सक्छन् घातै समेत गर्छन्
औला उठे कर्कलो झैँ गल्छन् यहाँ कोही

भन्छौ तिमी जल्नलाई आगै नभै हुन्न
म झुल्किनै हुन्न सत्ते जल्छन् यहाँ कोही
SSIS SISS SSIS SS
बहरे मुजास मक्तुअ
25/09/2011

गजलः इर्ष्यालु चाँदनीले

गजलः इर्ष्यालु चाँदनीले
आवाज शर्मा

इर्ष्यालु चाँदनीले तारिफ गरेन तिम्रो
त्यै डाहले झर्‍यो फूल आभा झरेन तिम्रो

कञ्चन् हिमाल जस्तै जादूगरी छ स्पर्श ।
झन् तिर्सना थपिन्छ चाहत मरेन तिम्रो ।।

रिमझिम नशालु आँखा चञ्चल हरिणसरीका ।
आफै ढल्यो सिकारी सामू परेन तिम्रो ।।

यौटा छ ठाउँ बाँकी सृङ्गार अपूर्ण छाड्यो ।
कालीगढी अचम्मै स्युँदो भरेन तिम्रो ।।

सँस्कार उच्च बोकी हिड्छ्यौ कुलीन 'बाला' ।
संघार भित्र बन्दी पाइला सरेन तिम्रो ।।
SSI SISS SSI SISS
23/09/2011

गजलः सपना जलेपछि

गजलः सपना जलेपछि
¤आवाज शर्मा¤

अनयास यी सपना जले पछिका कुरा ।
भो नसोध भो पिउँदै ढले पछिका कुरा ।।

जिउने मजा यसरी लिएँ कसरी भनूँ ?
अझ झन् छुरा मुटुमा चले पछिका कुरा ।।

न त लालिमा न भयो उषा न छ आश क्यै ।
छ उही निशा जुनले छले पछिका कुरा ।।

अनुभूतिको मरुभूमिमा म कहालिएँ ।
सपनाभरी असिना फले पछिका कुरा ।।

कुहिरोसरी छ जताततै किन हो किन ।
मुटुमा धुवाँ छ चिराग बले पछिका कुरा।।

17/09/2011
बहरेः कामिल
IISIS IISIS IISIS

गजलः यो शहरमा

गजलः यो शहरमा
¤आवाज शर्मा¤

आफ्नोबाटै घात होला मान्छे चिन्नू यो शहरमा ।
जे नि गर्छन् साथमा इँट बोकिहिड्नू यो शहरमा ।।

जिन्दगी हो चक्र यौटा, लामो बाटो चर्को धूप ।
जीउ पूरै ढाक्न पाटे कात्रो भिर्नू यो शहरमा ।।

कालो पोत्ने या त पोल्ने कोइलाको धर्म नै हो ।
आफ्नु बन्दा मिच्न सक्छन् च्वास्स बिझ्नू यो शहरमा ।।

चाकडी, तेल् घस्न जान्नू, सर्प बन्नू, डस्न जान्नू ।
खाँचो पर्दा जल्नुपर्छऽ आगो निल्नू यो शहरमा ।।

मूल्य कस्तो राख्न सक्छौ यो बजारको खाँचो के छ ?
भाउ तोकी आफ्नो आत्मा बेच्न सिक्नू यो शहरमा ।।

यन्त्र जस्तै चल्छ मुर्दा, यो शहर हो, सुन्छ आवाज ।
सुम्सुम्याऊ काँडो भेटे फूल मिच्नू यो शहरमा ।।
16/09/2011
SISS SISS SISS SISS

गजलः देख्छु सानूलाई

गजलः देख्छु सानूलाई
¤आवाज शर्मा¤

ऋतु सङ्गै फेरिएको देख्छु सानूलाई ।
भूमरीमा घेरिएको देख्छु सानूलाई ।।

मैले काँडा भाँच्न खोज्दा भो कठै भो भन्थिन् ।
फूल चुँड्दा हेरिएको देख्छु सानूलाई ।।

पढ्न भन्थ्यौ जिन्दगीका पत्र पल्टाएर ।
क्यै नबुझ्ने केरिएको देख्छु सानूलाई ।।

घाउ लाग्दा मुस्कुराउछिन् आँशु देखाउन्नन्
त्यै खुशीमा सेरिएको देख्छु सानूलाई ।।

साँझ पर्दा दीप बाली धूप सल्काए नि ।
त्यै धुँवा झैँ बेरिएको देख्छु सानूलाई ।।
SISS SISS SISS SS
15/09/2011

गजलः बानी परेन तिम्रो

गजलः बानी सरेन तिम्रो
¤आवाज शर्मा¤

मौका हजार पायौ बानी सरेन तिम्रो ।
झुक्याउँदै रमायौ तृष्णा मरेन तिम्रो ।।

भन्दै महान जनता तिन्कै करङ चढेर ।
निर्लज्ज लुट्न सक्ने धुर्त्याँइ झरेन तिम्रो ।।

सत्ता नपाउँदामा सुस्ता पुगेर बास्छौ ।
मन्त्री हुँदा सिमामा आँखा परेन तिम्रो ।।

गर्दै झुटा बहाना भोकाहरू फँसाई ।
खेल्दा नि भावनामा खाँचो टरेन तिम्रो ।।

बेचेर राष्ट्रिएता गर्दै अनेक कुकर्म ।
दौलत अकूत थुपार्र्यौ धोक्रो भरेन तिम्रो ।।
SSI SISS SSI SISS
छन्दः दिक्पाल
13/09/2011

गजलः साँझ नपर्दै

गजलः साँझ नपर्दै
¤आवाज शर्मा¤

छट्पटिन्छु हरेक पलपल साँझ नपर्दै
त्यसै त्यसै लाग्छ तलतल साँझ नपर्दै

बिर्सूँ भन्दा बिर्सनेकै याद बल्झियो
उस्कै तश्वीर देख्छु झलझल साँझ नपर्दै

कोल्टे फेर्दै बिते मेरा रात बिराना ।
चस्स घोच्छ बिझ्छ मलमल साँझ नपर्दै ।।

उकुसमुकुस हुन्छु जब न्याउली झुराउँछे ।
पसिनाले रुझ्छु खलखल साँझ नपर्दै ।।

माकुरीले जाल बुनेछ हिड्ने बाटोमा ।
जीवन यात्रा भयो दलदल साँझ नपर्दै ।।
09/09/2011

गजलः झर्दै नझर्ने फूल

गजलः झर्दै नझर्ने फूल
¤आवाज शर्मा¤

झर्दै नझर्ने फूल जस्तै भावना
कैलै नमर्ने प्रीत हाम्रो कामना

हामी नजागी क्रान्ति पक्कै हुन्न है
अमर शहीद भै कीर्ति राख्ने चाहना

यी हात हुन्छन् मुक्त टुट्छन् हत्कडी
आऊ नहारौँ युद्ध अर्को याचना

धर्ती उज्यालो हुन्छ नौलो ज्योतिले
पार्दिन्छु आकास मुग्ध छर्दै बासना

प्रत्येक मोर्चाबाट आवाज उर्लियो
भेट्नेछु पक्कै लक्ष्य थालेँ साधना
SSIS SSIS SSIS
08/09/2011

गजलः सानू तिमी कहाँ छौ

गजलः सानू तिमी कहाँ छौ
¤आवाज शर्मा¤

पलपल चिरिन्छ छाती सानू तिमी कहाँ छौ ?
सम्झेर रुन्छु राती सानू तिमी कहाँ छौ ??

मनमा छ अग्निज्वाला सल्क्यो बनी ढढेलो ।
दन्केर बल्छ बाती सानू तिमी कहाँ छौ ??

भाकेर देउराली ढोगी शिला शिलामा ?
राख्थ्यौ नि फूल पाती सानू तिमी कहाँ छौ ??

गल्ती गरेछु मैले थाहा भएन पैले ।
सोचेँ अझै नजाती सानू तिमी कहाँ छौ ??

माया थियो कि तृष्णा सम्बन्धको धरातल ?
झुल्केन खै प्रभाती सानू तिमी कहाँ छौ ??
SSI SISS SSI SISS
बहरे मुजारे मुसम्मन अखरब
छन्दः दिक्पाल
06/09/2011

गजलः किन होला रातभरि

गजलः रातभरि
¤आवाज शर्मा¤

यी आँखामा साउने झरी किन होला रातभरि ?
पोल्छ छाती घरी घरी किन होला रातभरि ??

कोल्टे फेर्दै छट्पटिन्छु निद्रा अझै पर भाग्छ ।
ताना चल्छन् नानाथरी किन होला रातभरि ??

उता जोडी बाँधिएर कोइलीले गीत गाउँछ ।
यता एक्लै रुन्छे चरी किन होला रातभरि ??

जहाँ दिउँसै रात पर्छ उज्यालोमै हुचील बास्छ ।
पराइ बन्छन् आफ्नै धरी किन होला रातभरि ??

हेर्दा हेर्दै तारा खस्यो आकास कहाँ रित्तियो र ?
जीवन मृत्यु सरिबरी किन होला रातभरि ??

यौटा आवाज निस्सासिन्छ अर्को आवाज बिलाउँछ ।
सन्नाटा छ वरिपरी किन होला रातभरि ??
05/09/2011

गजलः साँझ ढलेपछि

गजलः साँझ ढलेपछि
¤आवाज शर्मा¤

निस्सासिँदो हूरी चल्छ साँझ ढलेपछि ।
किस्तावन्दी जीवन ढल्छ साँझ ढलेपछि ।।

दीयो हेर्दै टोलाउँछु बतास बौलाउँछ ।
सलेदो झैँ आशा जल्छ साँझ ढलेपछि ।।

ऐँजेरू झै सम्बन्धका पत्र केलाउँदै ।
बाँझो रहर पाक्छ गल्छ साँझ ढलेपछि ।।

समर्पणको हिसाव गर्छु देख्छु मात्रै
घाटा
आस्था झुक्छ तृष्णा फल्छ साँझ
ढलेपछि ।।

एउटा आगो निभाउन हजार राँका झोस्छु ।
प्याला भित्रै सागर बल्छ साँझ
ढलेपछि ।।

उता बत्ती धिप्प निभ्छ यता आवाज सुक्छ

मृत्यु आउँछ ढाँट्छ छल्छ साँझ
ढलेपछि ।।
02/09/2012