गजलः प्रकाश नखोज

गजलः प्रकाश नखोज
¤आवाज शर्मा¤

डुबेको जूनमा, प्रकाश नखोज ।
म धर्ती दिन्छु भो, आकास नखोज ।।

यो माटो जिन्दगी, आस्था र भविष्य ।
छ आफ्नै आँगनी प्रबास नखोज ।।

लेकाली फूलको माया छ पवित्र ।
फँसिन्छौ नक्कली विश्वास नखोज ।।

सितल् यो ओजिलो छाती छ म संगै ।
बिरानो धूपको संन्त्रास नखोज ।।

जित्यौँ यो युद्धमा सम्हाल्नु छ प्राप्ति
पराजित् बन्नुको आभाष नखोज ।।

बहरे करीब मुसद्दस मख्बून
ISSS ISSS IISS
लयः (3+3)+(3+3)=12
29/03/2011

गजलः ऊ र समय

गजलः ऊ र समय
¤आवाज शर्मा¤

जोसँग छ, आँट उतै, बिजय भेटिन्छ ।
जित्नेकै त, पछिपछि, समय भेटिन्छ ।।

कति बहस्, चलाइए, बिना प्रशंगमा ।
भरिएको, प्यालासँगै, बिषय भेटिन्छ ।।

तिम्ले अर्थ, कहाँ बुझ्यौ, मौन इशाराको ?
उसका हरेक, मौनतामा, निश्चय भेटिन्छ ।।

सिकाएछौ, संस्कार ठूलो , तिमी गरिब हैनौ ।
त्यहाँ हरेक, चालभित्र, विनय भेटिन्छ ।।

हजार चोटि, मरिसकिस्, ए लाचार मान्छे ।
फेरि किन, मर्छु भन्ने, यो भय भेटिन्छ ।।

नलेखेर, पो त उस्ले, लेख्नु मात्र पर्छ ।
शब्दसँगै, आवाजको, यो लय भेटिन्छ ।।

(लयः 4/4/6=14)
28/03/2067

गजलः न सासको कुरा भयो

गजलः न सासको कुरा भयो
¤आवाज शर्मा¤

न सासको कुरा भयो ।
न लासको कुरा भयो ।।

कथा उही छ भोकको ।
न गाँसको कुरा भयो ।।

उधारिँदो छ जिन्दगी ।
न बासको कुरा भयो ।।

नसुल्झिने दशा बढ्यो ।
र त्रासको कुरा भयो ।।

छ शान्ति खै कहाँ कता ।
तलासको कुरा भयो ।।

जताततै सँधैभरी ।
निरासको कुरा भयो ।।

न क्यै रह्यो रहस्यमा ।
न आसको कुरा भयो ।।

27/03/2067

गजलः किनारमा पाएँ आज

गजलः किनारमा पाएँ आज
¤आवाज शर्मा¤

मझधारमा हराएथेँ किनारमा पाएँ आज ।
टप्प टिप्यौ शीरमा लायौ श्रृँगारमा पाएँ आज ।।

आफ्नो भन्नु अरू को छ? तिम्ले बुझ्यौ मैले बुझेँ ।
सारा कसम फिका भए निधारमा पाएँ आज ।।

भन्थ्यो कोही जिउन जाने प्याला भित्रै शान्ति मिल्छ ।
बजारिया शान्ति खोज्दा तरवारमा पाएँ आज ।।

कस्तुरीले वास खोज्दै सारा बन चहारेछ ।
हराएको देश आफ्नै दरवारमा पाएँ आज ।।

मनै मन बाट कुनै 'आवाज' आयो स्विकृतिको ।।
बल्ल आज जिन्दगीको आधारमा पाएँ आज ।।
26/03/2067

गजलः साइँला

गजलः साइँला
¤आवाज शर्मा¤

मनैमन गुनम् साइँला दुइटा मुटु उनम् साइँला ।
जुनी जुनी नछुटिनी मायापिरिम् बुनम् साइँला ।।

जोवन यसै जाने हो कि पराई आई लाने हो कि ।
मनको आँधी बाँध बाँधी कैलेसम्म थुनम् साइँला ??

हाँसे माया गाँसी भन्छन् बोले पोथी बासी भन्छन् ।
गाउँभरिका नौथरीका कति कुरा सुनम् साइँला ??

ब्रत बसी मागम् जस्तो हात समाई भागम् जस्तो ।
मेरो लायक तिमी बाहेक अरू कल्लाई चुनम् साइँला ??
21/03/2011

गजलः सरक्कै सर्की

गजलः सरक्कै सर्की
¤आवाज शर्मा¤

बदल्दै चाला सरक्क सर्की ।
इशारा गर्थी लरक्कै लर्की ।।

नचिन्ने जस्तै बहाना पारी ।
बोलाएँ मैले तरक्कै तर्की ।।

नभाका चर्चा चलायो कल्ले ।
नबोल्दै केही जरक्कै जर्की ।।

मनै हो आखिर दुखाए दुख्छ ।
सिसाको झ्यालझै चरक्क चर्की ।।

म आफ्नै बाटो नबोली फर्केँ ।
रुँला झै गर्दै दरक्कै दर्की ।।

बिहानी आकास खुले झै हाँसी ।
जित्यौ भो भन्दै फरक्क फर्की ।।


20/03/2011

गजलः चर्किनदेऊ

गजलः चर्किनदेऊ
¤आवाज शर्मा¤

सीसा जस्तै त हो माया चर्किनेलाई चर्किनदेऊ ।
पोल्यो भन्दा अझै बारुद छर्किनेलाई छर्किनदेऊ ।।

ठिक्कै पर्छन् बरा भन्छन् आँशु पुछ्ने हुन्न कुनै ।
खोजे कैयौँ बहाना छन् तर्किनेलाई तर्किनदेऊ ।।

साखुल्ले भै छुरा घोच्ने भन्छ साँचो मित्र म हूँ ।
पर्दा खोल्दा खुराफाती झर्किनेलाई झर्किनदेऊ ।।

आफ्ना आफ्नै कुरा हुन्छन् पुग्नुपर्ने लक्ष्य कहाँ ।
आधी बाटो छँदै कोही फर्किनेलाई फर्किनदेऊ ।।

काँढा टेक्दै हरेक पाइला हिँड्नु मैले पर्छ जसै ।
सँगै यात्रा गरौँ भन्दै पर्खिनेलाई पर्खिनदेऊ ।।
20/03/2011

गजलः हररात सपनीमा

गजलः हररात सपनी
¤ आवाज शर्मा¤

हररात सपनीमा आउँछ्यौ र रुवाउँछ्यौ ।
बर्सिरन्छन् मोतिदाना तिमी त्यहीँ नुहाउँछ्यौ ।।

फकाउँछ्यौ फुल्याउँछ्यौ मोहनीले झुलाउँछ्यौ ।
जुनी जुनी नछुटिने बाचाकसम खुवाउँछ्यौ ।।

नभेटिने आकास हुन्छ नमेटिने तृष्णा अझै ।
गुलाफको फूल देखाई चस्स काँढा छुवाउँछ्यौ ।।

ब्युँझिएर खोज्छु कतै अनयासै हराउँछ्यौ ।
थाहै पाइनँ कहाँ लुकाऊँ तिमी कहाँ सुहाउँछ्यौ ।।

16/03/2011

गजलः जरीना

गजलः जरीना
¤ आवाज शर्मा¤

मेरो पुराण जस्तै हो तिम्रो नमाज जरीना ।
मेरो संस्कार जस्तै हो तिम्रो रिवाज जरीना ।।

पन्क्षी कमजोर भएमा मात्रै बाँधिने हैन र ?
मेरो पिञ्जडा जस्तै हो तिम्रो समाज जरीना ।।

खोजे भेटिन्छन् प्रशस्तै मेरा ढुक्ढुकी पत्रमा ।
मेरो हृदय जस्तै हो तिम्रो दराज जरीना ।।

कस्ले छुटाउन सक्ला र ? मृत्यु हार्छ रे प्रेममा ।
मेरो आशंका जस्तै हो तिम्रो अन्दाज जरीना ।।

हरेक लडाइँ जित्छु म मात्र तिमीले बोल्नुछ ।
मेरो तरवार जस्तै हो तिम्रो 'आवाज' जरीना ।।

16/03/2011

गजलः साइँला

गजलः साइँला
¤ आवाज शर्मा¤

पाखाभरि बुकी फुल्यो आँखामा बैँस झल्क्यो साइँला ।
राम्री भन्छ जिस्किरन्छ ऐना यतै पल्क्यो साइँला ।।

कोपिलामा रंग चढ्यो, रहर अंग अंग चढ्यो ।
पातभरि सीतसरी लाली ओँठ टल्क्यो साइँला ।।

पछ्यौरीमा समेटिने चाहना छन् नमेटिने ।
दुनियाँका पापी आँखा उतै मन ढल्क्यो साइँला ।।

आफै गाउँछु, आफै सुन्छु, एक्लै हाँस्छु, एक्लै रुन्छु ।
कस्तो साह्रो भन्नै गाह्रो के बिमारी सल्क्यो साइँला ।।

मनमा तिम्रै छाँया बस्यो थाहै नपाई माया बस्यो ।
जानाजानी लुकाउँदा नि गहबाट छल्क्यो साइँला ।।

14/03/2011

गजलः काली नभन

गजलः काली नभन
¤ आवाज शर्मा¤

तिम्रै खुशी मेरो भेना साली भन काली नभन ।
रिसाऊ बरू गाली गर जाली भन काली नभन ।।

कोइली जस्तै रुपरंग बोल्ने ढंग मन परायौ ।
तिम्रो माया फुल्छ जहाँ डाली भन काली नभन ।।

साथ दिन्छु दुःख पर्दा आँशु झर्दा पुछिदिन्छु म ।
आफ्नै घरमा जोडिएको पाली भन काली नभन ।।

दिदीले नि डाह गर्छे आँखा तर्छे नआ भनेर ।
के भनूँ र रित्तै छु म खाली भन काली नभन ।।

असिनाले चुट्ने हो कि लुट्ने हो कि पराइ आएर ।
लहलह मुसीरको बाली भन काली नभन ।।
14/03/2011

गजलः मेरी जमुना

गजलः मेरी जमुना
¤आवाज शर्मा¤

नजरमै जादुटुना मेरी जमुना ।
पिरतीकी चोखो मुना मेरी जमुना ।।

कति माया गर्छौ भनी किन सोधेकी ?
आफैभन्दा हजार गुना मेरी जमुना ।।

परी बनी आउँछ्यौ मेरो नीँद उडाउँछ्यौ
मेरी साँझ मेरी जुना मेरी जमुना ।।

पूजा गरी राख भन्छ्यौ दीयो बालेर ।
कलेजीको छेउकुना मेरी जमुना ।।

गजलः चुरामा रमाएँ

गजलः चुरामा रमाएँ
¤ आवाज शर्मा¤

सबेरै बजेका चुरामा रमाएँ
इशारा गरेका कुरामा रमाएँ

कलेजी चिरे ती बदामी नयनले
म तीखा नजरको छुरामा रमाएँ

नबोली बुझायौ अनेकौ रहस्य
झुमायौ कुराका जुरामा रमाएँ

अधरमै छ प्याला नसुक्ने नदी झै
पियायौ बिहोसी सुरामा रमाएँ

14/03/2011
जुरा = चुचुरो, गजुर, सिउर

गजलः पिएँ आज फेरिपनि

गजलः पिएँ आज फेरि पनि
¤ आवाज शर्मा¤

दुख्दैथियो घाउ कतै पिएँ आज फेरिपनि
डुब्दैथियो नाउ कतै पिएँ आज फेरिपनि

भन्नलाई त जितेको छु भन्नैपर्र्यो भनिदिएँ
चुक्दैथियो दाउ कतै पिएँ आज फेरिपनि

नभेटिने गन्तब्यको यात्रा सुरू गर्नुथियो ।
छुट्दैथियो पाउ कतै पिएँ आज फेरिपनि ।।

तौलिएर मेरो माया लिलामीको बजारमा
उठ्दैथियो भाउ कतै पिएँ आज फेरिपनि

06/03/2011

गजलः थिएँ र पो पिएँ

गजलः थिएँ र पो पिएँ
¤ आवाज शर्मा¤

तिमीभन्दा धेरै टाढा थिएँ र पो पिएँ ।
उही उदास प्यासी डाँडा थिएँ र पो पिएँ ।।

फूल झरेको रित्तो डाली जस्तै रै छु म त ।
बिषालु म रुखो काँढा थिएँ र पो पिएँ ।।

बाडुलीले झस्काइरह्यो नीँदै लाग्ने हैन ।
तिम्रो मनमा उस्तै गाढा थिएँ र पो पिएँ ।।

अनयासै पाइला बढे जहाँ मृत्यु थियो ।
मतिभ्रष्ट जब्बरसाँढा थिएँ र पो पिएँ ।।

तिमी मनमै कैद भयौ नजर अन्तै डुले ।
निर्लज्ज म गतिछाडा थिएँ र पो पिएँ ।।

06/03/2011