गजलः हाम्रा नेताहरू

गजलः हाम्रा नेताहरू
¤ आवाज शर्मा¤


हाम्रा लागि गया, काँसी, मक्का हाम्रा नेताहरू
नौलो युग जन्माउने धक्का हाम्रा नेताहरू

पिण्ड पानी चलाउने बेला भा को पत्तै छैन
युवा अरे अझै जवान लक्का हाम्रा नेताहरू

अरू बेला ङ्यार्र ङुर्र कुटे झैँ र रोए झैँ छ
खानेबेला मतो मिल्ने पक्का हाम्रा नेताहरू

फुपूकै त श्राद्धे हो नि लुटे हुन्छ खाए हुन्छ
राष्ट्र हाँक्ने गाडी इन्जिन चक्का हाम्रा नेताहरू

साडी लाऊँ कि कछाड बेरौँ गाजल लाऊँ कि दारी काटौ
कुनै लिङ्ग नखुलेका छक्का हाम्रा नेताहरू

गजलः थरिथरीका

गजलः थरिथरीका
¤ आवाज शर्मा¤

फूलका आफ्नै जूनका आफ्नै जवानी थरिथरीका ।
प्रीतका आफ्नै गीतका आफ्नै कहानी थरिथरीका ।।

नीँदमा छैनन् ब्युँझने हैनन् छ पापी मद अनौठो ।
सोँचका आफ्नै रोगका आफ्नै अज्ञानी थरिथरीका ।।

सत्यको बाटो को छ खै साँच्चै हिडेको यसघडीमा ।
लोभका आफ्नै मोहका आफ्नै लगानी थरिथरीका ।।

घाउ छन् उस्तै दर्द छन् उस्तै जलेका हृदय उस्तै ।
युद्धका आफ्नै बुद्धका आफ्नै खरानी थरिथरीका ।।

गजलः चाँद से प्यार

गजलः चाँद से प्यार
¤ आवाज शर्मा¤

हम ख्वाबोँ की गोद मे चाहत को सुलाते है
रोते नहीँ हम आँशु ओँ से यादेँ धुलाते है

फिसलती है वही मिट्टी बार बार हम पैर रखते जहाँ
किस को कहूँ अपना ही किस्मत झुला झुलाते हे

वह कौन सी रात हे फिर हम को ही पता नहीँ
यादोँ मे सिर्फ वह आई और हम खुद को भुलाते हे

तुम से क्या सिकवा क्या गिला होगा नादान परी
सिकवा तो उन से भि नहीँ जो बार बार रुलाते हे

दिवाने हे अपुन तो आसमा की उस चाँद का
जो इस 'बाला' उमर मे ही हमे उपर बुलाते हे

गजलः मेरा गुरू र म

गजलः मेरा गुरू र म
¤ आवाज शर्मा¤

धागो एउटै बेराइ फरक
पातो एउटै केराई फरक

चेलो सरल जटिल गुरू
बाटो एउटै लेखाइफरक

आफ्ना आफ्ना जिउने दर्शन
पाटो एउटै देखाइफरक

स्वास फेर्ने हावा उही
माटो एउटै टेकाइफरक

उस्तै चोट घाउ हाम्रा
तातो एउटै सेकाइ फरक

गजलः स्वाहा

गजलः स्वाहा
¤आवाज शर्मा¤

आधीबैँस किताब कापी बोक्दाबोक्दै स्वाहा ।
गाह्रा सूत्र हिसाब उस्तै घोक्दाघोक्दै स्वाहा ।।

भाको हो कि पढी ठूलो हात्ती जस्तै ठानी ।
बाँधी बाँध रहर मनका रोक्दारोक्दै स्वाहा ।।

यौटा फूल झर्‍यो भैँमा कोही आयो कुल्च्यो ।
दोषी कर्म भन्यो थाप्लो ठोक्दाठोक्दै स्वाहा ।।

खुल्यो होश उमेर घर्क्यो जाने बाटै छैन ।
बाँकीबैँस गिलासको झोल धोक्दाधोक्दै स्वाहा ।।

आफ्नै रीति गलत हो या आफै दोषी हो खै ?
डुब्दो जून भयो जूनी खोक्दाखोक्दै स्वाहा ।।

गजलः बहीखाता

गजलः बहीखाता
¤आवाज शर्मा¤

पढ्नै कहाँ पाएको छु र पाताभरीका कुरा
मनमा अझै खेलिरहेछन् गाताभरीका कुरा

छटपटी उकुसमुकुस र बेदनाका पर्खाल
हृदयको बन्द कोठरी हाताभरीका कुरा

कति भूल कति गल्ती छन् के छ हिसाब मेरो
केलाएर हेर्नुछ बाँकी खाताभरीका कुरा

आफ्नाबीचकै सम्बन्धहरू जन्मकैदको दण्ड
चस्स घोच्छन् कता हो कता नाताभरीका कुरा

गजलः सरकार मेरो भूल भयो

गजलः सरकार मेरो भूल भयो
¤आवाज शर्मा¤


मैले साँचो बोलेँ सरकार यही मेरो भूल भयो
मैले राज खोलेँ सरकार यही मेरो भूल भयो

भोक लाग्यो भन्दै रुँदा चोली खोल्नु परेकै हो
मैले दोषी पोलेँ सरकार यही मेरो भूल भयो

नाङ्गै हिड्नु रहर हैन, बिन्ती मैले बिसाकै हूँ
मैले सरम टोलेँ सरकार यही मेरो भूल भयो

हैन हैन रगतको रंग कहाँ एउटै छ र ?
मैले आँशु घोलेँ सरकार यही मेरो भूल भयो

युगौँयुगको दासत्वलाई भाग्य मान्न सकिनँ र
मैले युद्ध मोलेँ सरकार यही मेरो भूल भयो

गजलः ऋतुहरूमा

गजलः ऋतुहरूमा म
¤ आवाज शर्मा¤


बसन्तमा न्याउलीसित मनको बह फुकाउछु
गृष्मसँगै खडेरीमा तृष्णा अझै सुकाउछु

अथाह यी बेदनाका कथा किन सुनाऊँ म
बर्षा हुन्छ झरी पर्छ आँशु त्यतै लुकाउँछु

आफैलाई लुटाएर हाँस्नै पर्ने कतैकतै
शरदका पर्वसँगै जीवन मोल चुकाउँछु

आफ्नै रीति जुगैभरी भोग्नु पर्ने सजायँ भो
हेमन्तका लगन सम्झी दुखेको मन दुखाउँछु

आस्था ढल्छ आत्मा ढल्छ ढल्छ आफ्नै शीर यहाँ
शिशिरका मुनासरी स्वाभिमान झुकाउँछु

गजलः कता कता

गजलः कता कता
¤ आवाज शर्मा¤

रोपियो कि मनमा फेरि किलो कता कता ?
सोध्नै नपाई मुहार पार्‍यौ नीलो कता कता ।।

कुर्दा कुर्दै मन मरेर भैगो भन्दै थिएँ ।
हतार गरी आएँ भन्यौ ढिलो कता कता ।।

जति साह्रो जमाऊँ भन्यो विश्वासको नाता ।
खै कसरी भैदिन्छ भो गिलो कता कता ??

बहाना झन् कति थरी केही सोधौँ भने ।
बिनादोष छ्याप्यो भन्छ्यौ हिलो कता कता ।।

धरोधर्म कस्तो बेला नाता जोडिएछ ?
अप्ठेरोमा आए झै भो पिलो कता कता ।।

गजलः गाजल सरी म

गजलः गाजल सरी म
¤आवाज शर्मा¤

पखालिएँ आँशुसँगै गाजल सरी म
बर्सिरहे साउनको बादल सरी म

नझुल्केको जून खोज्दै हरेक औँसीमा
भौतारिएँ सिँगै युग पागल सरी म

हर मेला हर उत्सव हुँदै रमिता
बजिरहेँ चोट खाँदै मादल सरी म

ममताले पालिएछु भुलेँ नियती
पर्सिइरहेँ बलि दिने भाकल सरी म

नमेटिने दाग लाग्यो बिना दोषमा
मिल्किइरहेँ कुमारीको आँचल सरी म

गजलः सोध्नै पाइनँ

गजलः सोध्नै पाइनँ
¤आवाज शर्मा¤

सोध्नै पाइनँ झरेको फूल चुन्थ्यौ चुन्दिनथ्यौ
मनको माला गाँस्दा सँगै उन्थ्यौ उन्दिनथ्यौ

रहरहरू छिरोलिइ आफै हराउँदा
छाती पिटी रूँ रूँ ला थ्यो सुन्थ्यौ सुन्दिनथ्यौ

एउटै हाम्रो बाटो थियो पुग्ने एउटै ठाऊँ
मलाई आफ्नो सहयात्री गुन्थ्यौ गुन्दिनथ्यौ

छट्पटीमा बिताएका एक्ला रातहरू
साउने भेल बन्दाखेरि थुन्थ्यौ थुन्दिनथ्यौ

पर्खाइमा पिल्सिएका आशा ढलेपछि
मन भुलाउने माकुरी जाल बुन्थ्यौ बुन्दिनथ्यौ

गजलः रहर एउटा जिन्दगी

गजलः जिन्दगी
¤ आवाज शर्मा¤

हरेक दिन अलग आशा रहर एउटा जिन्दगी हो ।
हाँसिहाँसी पिउनै पर्ने जहर एउटा जिन्दगी हो ।।

नमेटिने तृष्णाहरू पीडा बन्छन् पालैपालो ।
जन्ममृत्यु छटपटी कहर एउटा जिन्दगी हो ।।

नजितिने युद्ध एउटा नटुङ्गिने एउटा रीत ।
अपमानको सम्झौता र ठहर एउटा जिन्दगी हो ।।

भोकाएका नजर कतै, रित्ता मन जताततै ।
आँफैसित अपरिचित शहर एउटा जिन्दगी हो ।।

शान्त कुनै तलाउमा ढुंगा फालेँ अनि बुझेँ ।
क्षणमै उर्ली हराउने लहर एउटा जिन्दगी हो ।।

गजलः सुनुँसुनूँ लाग्यो ।

गजलः सुनुँसुनूँ लाग्यो ।
¤ आवाज शर्मा¤

तिमी बोल सुन्छु है त ? सुनुँसुनूँ लाग्यो ।।
मायाको फूल उन्छु है त ? उनुँउनूँ लाग्यो ।।

भत्केला कि संगालेको , मनको दह मेरो ?
बाँध बाँधी थुन्छु है त ? थुनुँथुनूँ लाग्यो ।

आफ्नै भन्दा तिम्रो माया, थपिदैँछ अझै
अझै थप्न गुन्छु है त ? गुनुँगुनूँ लाग्यो ।

प्रकृतिका हजारौँ रङ, आँखा वरिपरि ।
तिम्रै रुप चुन्छु है त ? चुनुँचुनूँ लाग्यो ।।

बरालिने मनै त हो, जालमा पारूँ जस्तो ?
माकुरी जाल बुन्छु है त ? बुनुँबुनूँ लाग्यो ।।

गीति गजलः मेरा गीतहरू

गजलः मेरा गीतहरू
¤ आवाज शर्मा¤

आफ्नै मेला पर्म आफ्नै पँधेरीका गीत गाएँ ।
जूनताराका कुरा छोडी मझेरीका गीत गाएँ ।।

मन उज्यालो भएदेखि औँसीको के डर भयो ?
साथी भयो जूनकिरी अँधेरीका गीत गाएँ ।।

म जन्मेको मेरो माटो बिर्सेँभने पाप लाग्छ ।
बुकी फुल्ने मेरै पाखा पखेरीका गीत गाएँ ।।

सुख सयल आनन्दका कुरा मैले जान्दिनँ भो
जे जे भोगेँ झरी बर्खा खडेरीका गीत गाएँ

गजलः जानाजानी हार्न पाऊँ

गजलः जानाजानी हार्न पाऊँ
¤ आवाज शर्मा¤

पिरतीको चोखो फूल मनभरि सार्न पाऊँ ।
बाँधी सीमा हृदयको वरिपरि बार्न पाऊँ ।।

सँधै तिम्रै जिन्दगीको नछुटिने अंग हुन्थेँ ।
त्यस्तो एउटा जाल बुनेर आफैलाई पार्न पाऊँ ।।

तिम्रै छाँया बन्न सके जिन्दगीको अर्थ खुल्थ्यो ।
तिमीसित आँखा जुध्दा आफ्ना नजर झार्न पाऊँ ।।

रमाउँथेँ तिमीसँगै खुशीयाली मनाउँदै ।
तिमीलाई जिताउन जानाजानी हार्न पाऊँ ।।

जिन्दगी त नदी न हो सुख दुःख दुई किनारा ।
हात समाई सयौँ नदी तर्न पाऊँ तार्न पाऊँ ।।

गजलः एउटै को ?

गजलः त्यो एउटै को ?
¤आवाज शर्मा¤

गह भर्दा आँशुसँगै बग्ने एउटै को ?
दुःख पर्दा जुनीभरी तग्ने एउटै को ?

दीपशिखा वरिपरी हजार पुतली ।
निभ्दै गर्दा त्यसमा तेल थप्ने एउटै को ?

जता जाऊँ मन्दिर मस्जिद हजार धाम छन् ।
आँशु झर्दा हृदयले जप्ने एउटै को ?

ठूलो जंघार रै छ जीवन हजार बाधा छन् ।
पारी तर्दा हात समाई लग्ने एउटै को ?

गजलः चेलीको मन दुख्यो अरे

गजलः चेलीको मन दुख्यो अरे
¤आवाज शर्मा¤

मखमली ओइलियो तेलधारा सुक्यो अरे
माइतीको बाटो कुर्दा चेलीको मन दुख्यो अरे

झिलिमिली बत्ती बल्यो सेलको मीठो बास चल्यो
छताछुल्ल आशु बग्यो बह मनमै लुक्यो अरे

देउसी भैलो खेल्दै आए चेली माइती नाचे गाए
सँगीसाथी रमाउँदा उन्को नजर झुक्यो अरे

सप्तरङ्गी उतै रह्यो यता निधार खाली भयो
यसपालीको साइत पनि हेर्दा हेर्दै चुक्यो अरे

अब धेरै रुनु हुन्न सँधै टाढा हुनु हुन्न
छिट्टै फर्की आऊ भन्छिन अब मुग्लान पुग्यो अरे

गजलः गरिबको दशैँ

गजलः गरिबको दशैँ
¤ आवाज शर्मा¤

दशै आयो ठूलाघरमा खसी ढालियो रे ।
मीठो खाँदै नयाँ राम्रा लुगा हालियो रे ।।

कति दशैँ बिते यसै खाली रह्यो निधार ।
आउँछ कि त भन्दै झुटा आशा पालियो रे ।।

रङ्गीचङ्गी रमिता छ गाऊँ बस्ती तिर ।
बाको उही झुत्रो कछाड भोटो टालियो रे ।।

लालबाला खुशी छन् रे आँखा भरी आशा ।
पोहोर जस्तै पापी ऋणको आगो बालियो रे ।।

गरिबको चाड पनि आँशु सँगै बग्यो ।
रुँदै रात सुस्केरामा दिन फालियो रे ।।

गजलः तिर्सनाको बाली

गजलः तिर्सनाको बाली
¤ आवाज शर्मा¤

आफ्नै पाखा, पखेरामा, तिर्सनाको, बाली राम्रो ।
मनको मल, पानी छरे, पसिनाको डाली राम्रो ।।

जहाँ झुल्छन्, लहलह, अपेक्षाका, बालाहरू ।
आफ्नै फाँट, टारी, बेसी, खेतका कान्ला, आली राम्रो ।।

सयौँ तले, अट्टालिका, जहाँ मीठो, नीँद छैन ।
ओँत दिने, तारामण्डल, आफ्नै खरको, पाली राम्रो ।।

पाल्सी कुरा, ख्याल ठट्टा, उस्तै प्यारो, बदमासी ।
जिस्काउँदा, मनकारीको, ममताको, गाली राम्रो ।।

सुनका अण्डा, पार्ने कुनै, बनचरीको, मोह छैन ।
एक अञ्जुली, पानी पाए, आफ्नै मेची, काली राम्रो ।।

गजलः किन मानूँ आमा

गजलः किन मानूँ आमा
¤ आवाज शर्मा¤


जन्मसँगै कर्म तोक्ने धर्म किन मानूँ आमा ?
म त इश्वर मर्‍यो भन्छु शर्म किन मानूँ आमा ??

शास्त्र बक्छन् झुटा कथा वरत्र र परत्रका ।
त्यो ढुङ्गाको चाकरीलाई पर्म किन मानूँ आमा ??

मान्छे मान्छे बीच त्रास रंग, वर्ण, सीमानाको ।
यही दोष सिर्जनाको मर्म किन मानूँ आमा ??

यस्तो पर्खाल जस्ले मेरै भाइ टाढा बनाको छ ।
भत्काउनै पर्छ भन्छु डर म किन मानूँ आमा ??

मन्दिरमै शान्तिप्रिय परेवाको बलि चढ्छ ।
त्यहीँ शान्ति मिल्छ भनी भर म किन मानूँ आमा ??

गजलः भो भो रुन्न

गजल: भो भो रुन्न
*आवाज शर्मा*


बिना बादल बर्षासरी दर्किन नि सक्छ मन ।
भो भो रुन्न भन्दा पनि धर्किन नि सक्छ मन ।।

नजिक हुन्छन् अरूहरू पराइ हुन्छ आफ्नै बरु ।
जहाँ दुख्छ त्यहीं नुन छर्किन नि सक्छ मन ।।

धमिलिँदै सङ्ले पनि स्नेहले पग्ले पनि ।
मैन जस्तो रैनछ यो चर्किन नि सक्छ मन ।।

कतै ओझेल पर्न सक्छ, नसम्हाले झर्न सक्छ ।
आफै भन्दा कतै टाढा तर्किन नि सक्छ मन ।।

जिन्दगीको लामो यात्रा अन्तिम लक्ष्य सागर मात्र ।
हैन रैछ नदी जस्तो फर्किन नि सक्छ मन ।।

गजलः रहर मेरो

गजलः रहर मेरो
¤ आवाज शर्मा¤


हातमा लिई परेलीले माटो छुने रहर मेरो ।
देश हाँस्छ भने बरु आफू रुने रहर मेरो ।।

परिश्रमले पखालेर यो माटोको दुर्गन्धलाई ।
पसिनाको पँधेरीमा दुःख धुने रहर मेरो ।।

कालो बादल ढाकिएर अँध्यारो छ गाँउबस्ती ।
जली आफै रित्तिएर टुकी हुने रहर मेरो ।।

बिच्छाएर सिँगै जीवन मेरो मातृभूमिलाई ।
आफ्नो शीरभन्दा माथि उठाउने रहर मेरो ।।

मेरो सीप ज्ञान विकेक थोपा रगत रहेसम्म ।
यै धर्तीको पाउ चढाई हाँसी ज्युने रहर मेरो ।।

गजलः नौलो नेपाल

गजलः नौलो नेपाल
¤आवाज शर्मा¤

उस्तै गल्ली उस्तै बाटो फोहोर बग्ने नाला उस्तै ।
उस्तै हाम्रो चल्ने शैली नौलो नेपाल चाला उस्तै ।।

पूरानै छन् लोभी आँखा छुच्चो शैली लुच्चो बानी ।
उस्तै पापी गन्धे चिन्तन टाँचा बेग्लै छाला उस्तै ।।

हाम्रो चिन्तन उस्तै उल्टो तिन्कै खातिर मर्छौ बाँच्छौँ ।
उस्तै रोगी टायर बाल्छौँ उस्तै धर्ना ताला उस्तै ।।

साँचो शान्ती आएको खै ? पार्टी आँफै खूनी पाल्छन् ।
उस्तै बन्दुक बोकेका छन् लाठी बर्छा भाला उस्तै ।।

लाखूलाई लिस्नो जस्तै पापीलाई मौका दिन्छौ ।
उस्तै आशा राख्दै पुज्छौँ उन्छौ दूबो माला उस्तै ।।

आशा दीयो निभ्नै लाग्यो हाम्रा आँखा कैले खुल्लान् ?
उस्तै भावी पुस्ता होलान् औसी झै रात काला उस्तै ।।

बहरः
मुतदारिक मुसम्मन् मक्तुअ मुदाइफ
सूत्र - (मुस्तफ्फैलुन् x 4, SSSS x 4)

गजलः मैले सहेँ

गजलः मैले सहेँ
¤ आवाज सर्मा¤

बेला भन्दा छिटो कुद्यौ, ताते भन्यौ मैले सहेँ ।
आफै बोल्यौ सुनेँ मात्र बाते भन्यौ मैले सहेँ ।।

माग्नुमाग्यौ सके जति दिएकै हूँ
खुशीसाथ ।
तिर्नुपर्ने बेला आयो खाते भन्यौ मैले
सहेँ ।।

तिम्रा अनेक छलकपट बुझेपनि चुप बसेँ ।
आफै जान्ने बन्यौ फेरी भाते भन्यौ मैले सहेँ ।।

तिमी बिना गाह्रो भन्यौ दुख पर्दा ओत दिएँ ।
घाम पानी छलेपछि छाते भन्यौ मैले सहेँ ।।

जवानीको गाह्रो बाटो यही हातको भर
काट्यौ ।
अर्कै दह्रो भ -याङ भेट्यौ पाते भन्यौ मैले सहेँ ।।

गजलः नसोचेको मोड

गजलः नसोचेको मोड
¤ आवाज शर्मा¤

नसोचेको दुःखी मोड आयो विचारमा ।
माया गर्ने आफ्नै मुटु पर्‍यो सिकारमा ।।

कोपिलामा चढ्दैथियो रंग जवानीको ।
अनयासै दम्भ चढ्यो तिम्रो श्रृँगारमा ।।

कुनै मीठो धुन बज्दै थियो हृदयको ।
बज्दा बज्दै तार टुट्यो मेरो सितारमा ।।

नभेटिने दूरी बन्यो हामी दुई माझ ।
रंगिएसी पराइको टिका निधारमा ।।

सँगैसँगै तर्नु थियो खोली जिन्दगीको ।
तिमी पारी पुग्यौ एक्लै म छु किनारमा ।।

गजलः कहिलेकाँही

गजलः कहिलेकाँही
¤आवाज शर्मा¤

मनै त हो वेदनाले तोडिन्छ यो कहिलेकाँही ।
आफै भन्दा कतै टाढा छोडिन्छ यो कहिलेकाँही ।।

सँधै सोझो कहाँ हुन्छ जिन्दगीको लामो यात्रा ?
कहीँ बाटो बिराएर मोडिन्छ यो कहिलेकाँही ।।

आसुँसँगै झर्नु पर्छ, व्यथासँगै जल्नुपर्छ ।
तीतामीठा पलसँगै गोडिन्छ यो कहिलेकाँही ।।

गाह्रो हुन्छ चिन्न पनि को बिरानो को आफन्त ।
झर्‍याम्म भै सीसासरी फोडिन्छ यो कहिलेकाँही ।।

भत्किएको साँघु जस्तो हुन्न रै छ मन
भन्नु ।
पलाएर अलिकति जोडिन्छ यो कहिलेकाँही ।।

गजलः फेरि रातको कुरा

गजलः फेरी रातको कुरा
¤ आवाज शर्मा¤

उज्यालोमा जिउँछु म फेरी रातको कुरा किन ?
विश्वासमा जिउँछु म फेरी घातको कुरा किन ?

म खोज्दिनँ उनका हरेक इशारामा नशा चढोस् ,
समर्पणमा जिउँछु म फेरी मातको कुरा किन ?

जति थिए हामी बीच पर्खाल सबै ढलेका छन् ।
पिरतीमा जिउँछु म फेरी जातको कुरा किन ?

किन खोजूँ झरिजाने पहेलपूरे पोथ्राहरू ?
पालुवामा जिउँछु म फेरी पातको कुरा किन ?

गजलः तारा खस्दा रातभरी

गजलः रातभरी
¤ आवाज शर्मा¤


खसिरहेँ आफै पनि तारा खस्दा रातभरी ।
बर्सिरहेँ आँशुसँगै जागा बस्दा रातभरी ।।

उडाएर लग्यो कतै टाढा भयो मेरै मन ।
निस्सासिएँ सम्झनाको हूरी पस्दा रातभरी ।।

नभेटिने दूरी बन्छ जति जति नजिक जान्छु ।
छटपटिएँ एकान्तले गला कस्दा रातभरी ।।

गल्ती देख्यो कोपिलामा रंग चढ्नु बसन्तले ।
तड्पिरहेँ नियतीले छुरी धस्दा रातभरी ।।

पलपल लागिरह्यो तिमीसँगै जूनमा आऊँ ।
अतासिएँ विरहले डस्दा डस्दा रातभरी ।।

गजलः यक्ष प्रश्न

गजलः यक्ष प्रश्न
¤ आवाज शर्मा¤


मुटुभित्र माटो राखी आँशु झर्‍यो र ?
सिङ्गो युगमा कुनै साँचो सपूत मर्‍यो र ?

अनेक् कुण्ठा बोक्यौँ आफ्नै छानो उधार्र्यौँ ।
आमा जस्ती देशको कसले माया गर्‍यो र ??

अशान्तीको आगो रोप्यौँ धर्ती जलायौँ ।
खरानीको खेतीले कहीँ सितल छर्‍यो र ??

आफ्नै भाइको गला रेट्यौँ पराई घुर्क्यायौँ ।
चह्र्याएको घाउमा कतै मल्हम
पर्‍यो र ??

घरभित्रै ब्वाँसो पाल्यौँ स्याल
धपायौँ ।
जित्यौँ भन्यौँ त्यस्तो कुनै दशा टर्‍यो र ??

गजलः सिकार गर्ला र ?

गजलः सिकार गर्ला र ?
¤आवाज शर्मा¤


बोकेको कुकुरले सिकार गर्ला र ?
गुलेली सोझ्याउँछौ तारा झर्ला र ?

देखियो उपती नि मैँ हूँ भन्नेका
गफै हुन् ताइँ न तुइँ माखो मर्ला र ?

मरिन्छ भोकभोकै कर्मै नगरे
दुहेरै कहिल्यै दुध डोको भर्ला र ?

उडेका चरीलाई झार्छौँ रामाराम्
तालमा जालथाप्दा चरो पर्ला र ?

गर्छ कि त्यहीपनि खै त पत्याको
ठडियो हुटिट्याऊँ बाधा टर्ला र ?

गजलः दोष किन ?

गजलः दोष किन ?


¤आवाज शर्मा¤





आफ्नै धनु चुँडियो त सिकारलाई दोष किन ?

भन्ने एउटा गर्ने एउटा विचारलाई दोष किन ?



अल्छे तिघ्रो स्वादे जिब्रो भोकै मर्ने दशा आयो ।

पाखुराले लाप्पा खेल्यो निधारलाई दोष किन ?



पर्‍यो नि त हुनु पनि रंग ढंग आफूसित

आफ्नै सूरताल चिप्ल्यो सितारलाई दोष किन ?



आँखा चिम्ली हिडेपछि खाल्टो पनि देखिदैन ।

ठोक्किन्छ नि बाटो छाडे दिवारलाई दोष किन ?



अगुवा नै समाजका बेथितीका खल भए ।

आफ्नै धोती सम्हाले भो विहारलाई दोष किन ?

गजलः जन्ममृत्यु

गजलः जन्ममृत्यु


¤आवाज शर्मा¤



संसार जित्ने धेरै भए काल भन्दा अघि को छ ?

बिधाताले बढाएको चाल भन्दा अघि को छ ?



बाँचुञ्जेल तेरो मेरो सँसारकै सेरोफेरो

जन्ममृत्यु रचनाको छालभन्दा अघि को छ ?



भाग्ने पनि ठाउँ छैन बस्छु भन्नै पाइदैन ।

यमराजले बिच्छाएको जालभन्दा अघि को छ ?



इशारामै चल्नुपर्ने जाग्नुपर्ने ढल्नुपर्ने

प्रकृतिले बजाएको तालभन्दा अघि को छ ?

गजलः युद्धबन्दी

गजलः युद्धबन्दी


¤आवाज शर्मा¤





जुनीभरी साथ चाहे जन्मनाता तोड्नुपर्छ ।

पराइलाई आफ्नो मानी आफ्ना सबै छोड्नुपर्छ ।।



एकै धर्को सिन्दुरले चरणकी दासी बनी,

जति टुक्रा परोस् मुटु कर्तव्यले जोड्नुपर्छ ।।



झुकाउनु छ शीर सँधै आफ्नो हार स्विकारेर,

पहिचान मेटाएर नामै अन्त मोड्नुपर्छ ।।



प्रेम हो कि युद्ध हो यो ? या हो आत्म समर्पण ?

सँस्कार यो दासत्वको जीवनभरी ओढ्नुपर्छ ।।



असमान सम्झौता यो युद्धबन्दी अर्धाङ्गिनी,

अति भयो, कुसँस्कारको साङ्लो अब फोड्नुपर्छ ।।

गजलः पक्कै होला

गजलः माटो पक्कै होला
¤ आवाज शर्मा¤

नेपाली हूँ भन्दा रै छौ आफ्नो माटो पक्कै होला ।
मेचीकाली डाँको छोड्दा दुख्ने खाटो पक्कै होला ।।

स्वर्गै पाएँ ईन्द्रै भेटेँ, तिम्रा फुर्ती हावादारी ।
हाँसो रोदन् त्यो जीवनको दोस्रो पाटो पक्कै होला ।।

तिम्ले कोटी दौलत् जोड्यौ आफ्नै छानो भत्क्यो साथी ।
आमा बिर्स्यौ आत्मा बेच्यौ धन् कै साटो पक्कै होला ।।

प्वाँख् हालेसी बीसोटा दोष् लाएका हौ थाहा पाएँ ।
माटो खोस्रे यै धर्तीमा खाने आटो पक्कै होला ।।

यै माटोको धूलो खेल्दा थाक्ने छैनन् मेरा गोडा ।
झर्दै जाँदा ओरालीमा चढ्ने बाटो पक्कै होला ।।

गजलः अझै मीठो

गजलः अझै मीठो

¤ आवाज शर्मा¤





पछ्यौरीमा जवानी त्यो लुकाएको अझै मीठो ।

लजाए झैँ परेली ती झुकाएको अझै मीठो ।।



नबोलेरै सतायौ है म रोएको निको मान्यौ ।

रिसाए झैँ रुखो बोल्दै दुखाएको अझै मीठो ।।



झुके आँखा ढल्यो सन्ध्या निशा छायो भयौ टाढा ।

दियो बाल्दै जली आत्मा सुकाएको अझै मीठो ।।



कुनै मीठो इशाराले नजिक् तान्यौ जितीहाल्यौ ।

दिई माया सबै कर्जा चुकाएको अझै मीठो ।।


तिमी आयौ उषा छायो चुम्यौ आँखा उज्यालो भो ।

बिहानी भै सबै बाधा फुकाएको अझै मीठो ।।

गजलः भदौरे झरी

गजलः भदौरे झरी
¤ आवाज शर्मा¤


गरूँ के कुरा यो भदौरे झरीको ।
कहानी नमीठो अनेकौँ थरीको ।।

बगायो कतैको डुबायो कसैको ।
छुटायो पिरिम् त्यो भँगेरी चरीको ।।

हिँडेका पुगेनन् परे रे बिचैमा ।
बिचल्ली भयो रे बचेरा धरीको ।।

बढेको छ कोशी चढेको छ काली ।
बिरानो भयो त्यो पँधेरी सरीको ।।

दुखायो नमीठो असाध्यै झरीले ।
टुटायो खुशी यी परेली भरीको ।।

गजलः जुन रोयो ।


गजलः जुन रोयो

¤ आवाज शर्मा¤


मिर्मिरे भो भाले बास्दा तारासँगै जुन रोयो ।

चुँडिएको तार गाँस्दा सारङ्गीको धुन रोयो ।


कोपिलामै मात रोयो फूल रोयो पात रोयो

टप्प टिपी बाली मास्दा पारखीको गुन रोयो ।


उज्यालो भो रात रोयो छुट्नुपर्दा साथ रोयो

खुशी हुने रहर बाँच्दा आशा आकास छुन रोयो ।


धर्ती रोयो सगर रोयो नदी रोयो बगर रोयो

घोटिएर जाँच्दा जाँच्दा अकबरी सुन रोयो ।


हिमाल पहाड तराइ रोयो आफूसित पराई रोयो

छातीभित्र भित्र टाँस्दा मन विरानो हुन रोयो ।

गजलः सम्झनाका तश्वीरहरू

गजलः सम्झनाका तश्वीरहरू
¤ आवाज शर्मा¤


तिर्खाउँदा झरनाको कलकल सम्झेँ ।
लाँकुरीको चिसो हावा झलझल सम्झेँ ।।

सालको पात बजाउँदै मनका कुरा खोल्दै ।
सैँ साथीलाई भेट्नैपर्ने तलतल सम्झेँ
।।

बनपाखा मेलापात सँधै अर्म पर्म ।
नुहाइने पसिनाको खलखल सम्झेँ ।।

बिसाउँदा चौतारीमा मिठो निद्रा दिने ।
आफ्नोपना ममताको मलमल सम्झेँ ।।

पाखण्डको बजारमा बिक्रि भए पछि
कुम्भिपाक शहरको दलदल सम्झेँ ।।

सम्पत्तीले किनिएन एकै चिम्टी खुशी
जननी र जन्मभूमि पलपल सम्झेँ ।।

गजलः अचम्म भो ।

गजलः अचम्म भो
¤ आवाज शर्मा¤


तिर्खाएको प्यासी छेउमैँ खोली पुग्यो अचम्म भो ।
बिना दुल्हा , बिना जन्ती डोली पुग्यो अचम्म भो ।

हिजै गर्थेँ आजै गर्छु धक्कु लाउँथ्यो पाखण्डीले ।
बेला आयो सर्‍यो भाखा भोली पुग्यो अचम्म भो ।

लुकाउँथ्यो ढुँग्रो कतै मोही माग्दा मगन्तेले ।
आशिर्वाद माग्न आज झोली पुग्यो अचम्म भो ।

बैकुण्ठका प्रभु आफै भक्त खोज्दै धर्ती झरे ।
जो नास्तिक हो पैला उस्कै सोली पुग्यो अचम्म भो ।।

सतीले त सरापेकै माटो हो यो बाले
भन्थे ।
जे भने नि पत्याउँदैन्थेँ , बोली पुग्यो अचम्म भो ।

गजलः मेरो देश

गजलः मेरो देश
¤ आवाज शर्मा¤


बिझेको छ काँडो , मेरो देश भन्छ ।
अशान्ति भो घाँडो , मेरो देश भन्छ ।

अभिशाप भए बीरताका कथा
नजागेको खाँडो , मेरो देश भन्छ

यही छाती चोखो ममता हो धर्ती
बनेको छ ठाँडो मेरो देश भन्छ

जकडियो कता अडकियो कता
फुकाइदेऊ चाँडो मेरो देश भन्छ

राष्ट्रघाती तत्व हामी माझै छ रे
कटाइदेऊ डाँडो मेरो देश भन्छ

गजलः शव्द शव्द

गजलः शव्द शव्द
¤ आवाज शर्मा¤


शव्द शव्द पग्लिएर, आँखाबाट लडेपछि ।
अझै बुझ्न सकेनौ र ? थोपा थोपा
पढेपछि ।।

तिमी भन्छौ अधर खोल, नजर मात्रै बोले किन ?
कहाँ सकेँ ऐया भन्न ? मुटुमै तीर
गढेपछि ।।

आश्वासनका मीठा मीठा, तिम्रा बाचा
आँखाभरि ।
सितलो म कता खोजूँ ? भित्री मनै
डढेपछि ।।

सतहमा तिमी खोज्छौ, व्यथा भित्रै
गढेको छ ।
कहाँ यसै निको हुन्थ्यो ? गहिरो ज्वरो चढेपछि ।।

पलपल लुटिनुको, मर्म भित्रै मर्माहत
छु ।
दुख्नुभन्दा धेरै माथि, मनको जलन
बढेपछि ।।

गजलः साउने झरी

गजलः साउने झरी
¤ आवाज शर्मा¤

काली घटा सगरभरी फिँजाउन आऊ
बर्षिएर साउने झरी भिजाउन आऊ ।।

कैले घाम कैले छायाँ नदिएर थाहै
रुप फेरी घरीघरी गिज्याउन आऊ ।।

जुन खोज्दा जुनै छोप घाम खोज्दा घामै
हप्तैभरी झरी परी झिँज्याउन आऊ ।।

उरालेर नदी खोला सुसाएर पाखा
मनै दोमन हुने गरी बिझाउन आऊ ।।

बलेको छ धरती यो तातो आगो सरी
मूल फुटाई सुधासरी रिझाउन आऊ ।।

गजलः मेरी मञ्जरी

गजलः मेरी मञ्जरी


¤आवाज शर्मा¤



यसै गर्छ्यौ घरी घरी मेरी मञ्जरी

बहाना नै हजार थरी मेरी मञ्जरी


बोल्दिनँ भो अब भन्छ्यौ आज रिसाउँछ्यौ

खुल्छ्यौ भोली जुन सरी मेरी मञ्जरी


कहिले गाली गर्छ्यौ कहिले त्यसै घुर्क्याउँछ्यौ

कहिले भन्छ्यौ मर्छु धरी मेरी मञ्जरी


सँगै पनि कहिलै छैनौ कहिल्यै छुट्टिन्नौँ

चखेवा झै जोडी चरी मेरी मञ्जरी


कल्पना मैँ आउँछ्यौ जान्छ्यौ टाढा विलाउँछ्यौ

बालामनकी स्वप्न परी मेरी मञ्जरी

गजलः परीका कथा

गजलः परीका कथा


¤आवाज शर्मा¤





चरी झै पखेटा हुने परीका कथामा तिमी ।

परी झै उडेको सुनेँ चरीका कथामा तिमी ।।



नजरमा झुलेका सबै रहरमा तिमी नै थियौ ।

मजस्तै पछ्याउने सयौँ थरीका कथामा तिमी ।।



पछ्यौरी समात्दै सदा हराउँथ्यौँ कता हो कता ।

बज्यैले सुनाउने मिठा हरीका कथामा तिमी ।।



खडेरी परे झैँ थियो सुसाको अँधेरी मन ।

पियासै नमेटी गयौ झरीका कथामा तिमी ।।



कसोरी भुलौ ती अहा म बाला दिनैका कुरा ।

झझल्को भरी छ्यौ सुधा सरीका कथामा तिमी ।।

गजलः सराबी म

गजलः सराबी म


¤आवाज शर्मा¤





रस छञ्जेल निचोरिएँ त्यसैले त कागती म ।

तिम्रै जित सँधैभरी हार हुने सम्मती म ।



पिएँ रहर रहरैमा आज पिउनै पर्ने भयो ।

तिम्रो एकै नजरपानको हरदिन अम्मली म ।।



तिम्रो माया मुटुभित्र दुखिर'ने घाऊ भयो ।

कहिल्यै निको नहुने यो दिर्घकाली बिमारी म ।।



शर्तमाथि शर्तहरू तिम्रा छुट्ने बहानामा ।

तिमी सँधै जाती रह्यौ , दुनियाँको बेमानी म ।।



भुल्न कहाँ सकिन्थ्यो र ? प्याला भित्रै तिमी हुन्छ्यौ ।

बहाना हो बिर्सने त बाह्रमासे सराबी म ।।

गजलः हाम्रो कथा

गजलः हाम्रो कथा

¤आवाज शर्मा¤

.

तिम्रो मेरो कथा कस्तो तप्केनीको आलीजस्तो

कहिल्यै फल नलागेको ओसेपको बालीजस्तो

.

जताततै फूलेका छन् खुशीहरू बगैँचामा

हराभरा बोट भन्छ्यौ फूल झरेको डालीजस्तो

.

आफन्त र पराई भन्नु हेराइ मात्र फरकफरक

मलाई त्यही अर्ती हुन्छ तिम्लाई त्यही गालीजस्तो

.

एउटै हुन्छ नाप्ने बस्तु एउटै हो नापो तर

मलाई आधा भरी लाग्छ तिम्लाई आधा खालीजस्तो

.

आऊ अब मिलाउनुछ हाम्रा फरक मनहरू

हामी फूल बनेमात्रै हाम्रो माया मालीजस्तो

गजलः छ र आमा ?

गजलः काँ छ र आमा

¤आवाज शर्मा¤

भन्देऊ न ईश्वर काँ छ र आमा

दुःखीको घरमा आ छ र आमा

परदेशी खसम सौतेली सासु

सुस्केरा हाल्न नि भा छ र आमा

सियो झैँ आउँछन् धारिला बचन

विरह यसै ला छ र आमा

नरोऊँ भन्दा भक्कानु छुट्छ

न्याउलीले त्यसै गा छ र आमा

भोक र तिर्खा नुनिला आँशु

मलाई झैँ कल्लाई था छ र आमा

गरेर भाकल चढाई फूल

कसैले ईश्वर पा छ र आमा