गजलः बिचार उस्तै

गजलः बिचार उस्तै
¤ आवाज शर्मा¤

तिम्रो चाहना उस्तै मेरो बिचार उस्तै ।
तिम्रो जवानी उस्तै मेरो निखार उस्तै ।।

काल, लगन, ग्रह, दशा अनिष्ट छन् रे !
तिम्रो ज्योतिषी उस्तै मेरो निधार उस्तै ।।

चर्चा यसै नि चल्छ चल्दा आपत्ती किन ।
तिम्रो सामिप्य उस्तै मेरो श्रृङ्गार उस्तै ।।

निको कहिल्यै हुन्न कुनै दवाइले छुन्न ।
तिम्रो उपचार उस्तै मेरो बिमार उस्तै ।।

म पो हाँसे झैँ रोएँ तिमी रोए झै हाँस्यौ ।
तिम्रो 'आवाज' उस्तै मेरो चित्कार उस्तै ।।
17/02/2011

गजलः बद्लिए फेरि चाहना

गजलः बद्लिए चाहना
¤आवाज शर्मा¤

माधुरी बास फेरियो बद्लिए फेरि चाहना
तिर्सना आज फेरियो बल्झिए फेरि चाहना

फूलमा रङ्ग पोतिँदा रङ्गियो आज जिन्दगी
मञ्जरी पुष्प फेरियो अग्लिए फेरि चाहना

प्रीतिको धुन सम्झिदा बिर्सिएँ जन्म आँगनी
रङ्गिलो मात फेरियो अल्झिए फेरि चाहना

लाजले जम्छु शीत भै बैँसको ताप रापिलो
प्रेमको अर्थ फेरियो पग्लिए फेरि चाहना

हर्षका आँशु बग्दछन् यो खुशी हेर प्राप्तिको
प्रीतिको स्वार्थ फेरियो सँग्लिए फेरि चाहना

गजलः इशारा बुझेनौ

गजलः इशारा बुझेनौ
¤ आवाज शर्मा¤

फुलेका रहरको इशारा बुझेनौ ।
झुमेका भ्रमरको इशारा बुझेनौ ।।

सुनौलो जवानी चढेसी लजाएँ ।
झुकेका नजरको इशारा बुझेनौ ।।

म प्यासी चरी झै तिमी छेउ सुसाएँ ।
खुलेका अधरको इशारा बुझेनौ ।।

बगेका नदीको किनारा पछ्यायौ ।
दुखेका बगरको इशारा बुझेनौ ।।

म एक्ली बिरानी तमासा भएछु ।
छुटेका सफरको इशारा बुझेनौ ।।

12/02/2011

गजलः पिउँदा पिउँदै

गजलः पिउँदा पिउँदै
¤ आवाज शर्मा¤

यसरी म पिउन पाऊँ साँझ ढलोस् पिउँदा पिउँदै ।
शरीर यही सडक गल्ली माझ ढलोस पिउँदा पिउँदै ।।

आफैभन्दा बलिया छन् गुम्सिएका चाहहरू ।
चिच्याएर बोल्न सकूँ लाज ढलोस् पिउँदा पिउँदै ।।

सीमाहरू समाजका भत्केका छन् लुकिचोरी ।
रहस्यका पर्दा खुलुन् राज ढलोस् पिउँदा पिउँदै ।।

जात, धर्म, पेशा, औकात हाम्रो बिचका सीमाहरू ।
त्यो पाखण्डी अभिमानको ताज ढलोस् पिउँदा पिउँदै ।।

मन्द हुँदै जाओस् 'आवाज' धिप्प बत्ती निभोस् कतै ।
मधुशाला भित्रै जीवन आज ढलोस् पिउँदा पिउँदै ।।

10/02/2011

गजलः कि अरू क्यै हो ?

गजलः कि अरू क्यै हो ?
¤आवाज शर्मा¤

ऊ नै तिम्रो सपनाको राजा हो कि अरू क्यै हो ?
भन्नलाई त आफ्नै भन्थ्यौ साझा हो कि अरू क्यै हो ??

पोहोर भेट्दा अर्कै थियो अहिले फेरि अर्कै रै छ ।
रुचाउँदिन बासी भन्थ्यौ ताजा हो कि अरु क्यै हो ??

उमेरमै हो बज्ने भन्दै मादलसरी बज्यौ अरे ।
भित्तातिर झुण्ड्याइएको बाजा हो कि अरू क्यै हो ??

पाक्कपुक्क मोटाइहाल्यौ उस्को संगत फाप्यो क्यारे ।
पटुकीमा पोको पार्‍या खाजा हो कि अरू क्यै हो ??

09/02/2011

गजलः अलिकति पिउन देऊ

गजलः अलिकति पिउन देऊ
¤आवाज शर्मा¤

आज दिन ढलेकोछ अलिकति पिउन देऊ ।
साँझ बत्ती बलेकोछ अलिकति पिउन देऊ ।।

सिँगै जीवन थोरै भयो पर्खिएर बसूँ कति ?
आउने बेला टलेको छ अलिकति पिउन देऊ ।।

गालाबाट झर्दै रै छन् ताता ताता आशुहरू ।
भित्रै कहीँ जलेको छ अलिकति पिउन देऊ ।।

कतै आगो सल्केको छ सुकेको छ हृदय यो ।
मनमा हूरी चलेको छ अलिकति पिउन देऊ ।।

स्वप्नमै त बाँच्नु छ नि बेहोसी हो जीवन सुख ।
आशा त्यसै गलेको छ अलिकति पिउन देऊ ।।

बदला त लिनै थियो जस्ले मेरो तक्दिर लेख्यो ।
फेरि उस्लेइ छलेको छ अलिकति पिउन देऊ ।।

08/02/2011

गजलः ऊ को होलिन् ?

गजलः ऊ को होलिन् ?
¤आवाज शर्मा¤

ऊ को होलिन् नजरको तीर मेरो मुटुभरी दागिन् ।
सपनीमा मिलनका बाचा गरी बिपनीमा भागिन् ।।

फूलै फूलको सुवासमा जून ताराकी रानी खुल्न थालिन् ।
धर्ती आकास जसोगरी सँधैभरी मेरो साथ मागिन् ।।

परेलीमा चुमिन् जब अनयासै खुले मेरा आँखा ।
निदाउँन चाहेँ फेरि झझल्कोमा उनी मात्रै जागिन् ।।

उनैलाई पाएदेखि सँधैभरी निदाउन राजी ।
नजीक नजीक बोलाएर आफू अझ पर पर लागिन् ।।

गजलः दीयो जलिसकेपछि

गजलः दीयो जलिसकेपछि
¤ आवाज शर्मा¤

अँध्यारै छ फेरि पनि दीयो जलिसकेपछि ।
उडाएछ मेरो प्रकाश हुरी चलिसकेपछि ।।

पूरै दिन यसै बित्यो झुल्के घामको पर्खाइमा ।
बल्ल मेरो आकास खुल्यो साँझ ढलिसकेपछि ।।

प्रतिक्षामा कैयौँ युग एक्लै एक्लै रोइरहेँ ।
कोही आयो आशु पुछ्न चिता जलिसकेपछि ।।

पटकपटक तोडिएर जुट्छु भन्नु गाह्रो रै छ ।
फेरि उही साथ माग्यौ विश्वास गलिसकेपछि ।।

भित्र भित्रै निस्सासियो अव्यक्त यो मनको आवाज ।
थाहा पाएँ आँखाभरि मोति फलिसकेपछि ।।

07/02/2011

गजलः जून चुहेको बेला

गजलः जून चुहेको बेला
¤ आवाज शर्मा¤

मेरो आकास च्यातिएर जुन चुहेको बेला थियो ।
मेरो आशु साटिएर खुन चुहेको बेला थियो ।।

उपयोग हुँदैथिएँ उपभोग्य वस्तुसरी ।
मेरो आस्था मेटिएर गुन चुहेको बेला थियो ।।

मैले गाउने सरगम रुन्थ्यो हरेक गजलसित ।
मेरो टुङ्ना रेटिएर धुन चुहेको बेला थियो ।।

उपहारमा तौलिएर प्रित जोख्ने महफिलमा ।
मेरो धड्कन पेलिएर सुन चुहेको बेला थियो ।।

दबाइएको आवाज जब उन्मुक्तिको युद्ध रोज्थ्यो ।
मेरो विश्वास बेचिएर नुन चुहेको बेला थियो ।।

06/02/2011

गजलः निभेको दीयो

गजलः निभेको दीयो
¤ आवाज शर्मा¤

निभिसक्यो दीयो अब तेल थप्नु किन ?
हारिसके पछि फेरि खेल थप्नु किन ??

जिन्दगी नै हरेक अर्थ कैदसरी भए ,
घाउ बल्झाइ सम्झनाको नेल थप्नु किन ??

आफैलाई ढाँटेकोछ आफ्नै नियतीले ।
त्यसैमाथि फेरि अर्को झेल थप्नु किन ??

थाहा छैन कहाँ पुग्ने कहा पुगिएछ ?
मझधारमा फँसेकैलाई भेल थप्नु किन ??

चाहनाका 'आवाज'हरू भित्रै गुम्सेका छन् ।
आफ्नै मन फाँसी भए जेल थप्नु किन ??

03/02/2011

गजलः दुई खोलीको दोभान

गजलः दुई खोलीको दोभान
¤ आवाज शर्मा¤

दुई खोलीको दोभानसरी हुनै सकिनँ ।
मन खोलेर रूँ भन्दा नि रुनै सकिनँ ।।

चखेवाका रहरहरू आकास पुगे रे ।
मैले जून टिप्न खोजेँ छुनै सकिनँ ।।

खोसिएको गाँसजस्तै मेरो कहानी ।
आँशुले मन धुन्छु भनेँ धुनै सकिनँ ।।

आँखै भरि मादी सेती एउटै जिन्दगी ।
मेरो आकास पग्ली झर्यो थुन्नै सकिनँ
।।
03/02/2011