गजलः तिर्सनाको बाली

गजलः तिर्सनाको बाली
¤ आवाज शर्मा¤

आफ्नै पाखा, पखेरामा, तिर्सनाको, बाली राम्रो ।
मनको मल, पानी छरे, पसिनाको डाली राम्रो ।।

जहाँ झुल्छन्, लहलह, अपेक्षाका, बालाहरू ।
आफ्नै फाँट, टारी, बेसी, खेतका कान्ला, आली राम्रो ।।

सयौँ तले, अट्टालिका, जहाँ मीठो, नीँद छैन ।
ओँत दिने, तारामण्डल, आफ्नै खरको, पाली राम्रो ।।

पाल्सी कुरा, ख्याल ठट्टा, उस्तै प्यारो, बदमासी ।
जिस्काउँदा, मनकारीको, ममताको, गाली राम्रो ।।

सुनका अण्डा, पार्ने कुनै, बनचरीको, मोह छैन ।
एक अञ्जुली, पानी पाए, आफ्नै मेची, काली राम्रो ।।

गजलः किन मानूँ आमा

गजलः किन मानूँ आमा
¤ आवाज शर्मा¤


जन्मसँगै कर्म तोक्ने धर्म किन मानूँ आमा ?
म त इश्वर मर्‍यो भन्छु शर्म किन मानूँ आमा ??

शास्त्र बक्छन् झुटा कथा वरत्र र परत्रका ।
त्यो ढुङ्गाको चाकरीलाई पर्म किन मानूँ आमा ??

मान्छे मान्छे बीच त्रास रंग, वर्ण, सीमानाको ।
यही दोष सिर्जनाको मर्म किन मानूँ आमा ??

यस्तो पर्खाल जस्ले मेरै भाइ टाढा बनाको छ ।
भत्काउनै पर्छ भन्छु डर म किन मानूँ आमा ??

मन्दिरमै शान्तिप्रिय परेवाको बलि चढ्छ ।
त्यहीँ शान्ति मिल्छ भनी भर म किन मानूँ आमा ??

गजलः भो भो रुन्न

गजल: भो भो रुन्न
*आवाज शर्मा*


बिना बादल बर्षासरी दर्किन नि सक्छ मन ।
भो भो रुन्न भन्दा पनि धर्किन नि सक्छ मन ।।

नजिक हुन्छन् अरूहरू पराइ हुन्छ आफ्नै बरु ।
जहाँ दुख्छ त्यहीं नुन छर्किन नि सक्छ मन ।।

धमिलिँदै सङ्ले पनि स्नेहले पग्ले पनि ।
मैन जस्तो रैनछ यो चर्किन नि सक्छ मन ।।

कतै ओझेल पर्न सक्छ, नसम्हाले झर्न सक्छ ।
आफै भन्दा कतै टाढा तर्किन नि सक्छ मन ।।

जिन्दगीको लामो यात्रा अन्तिम लक्ष्य सागर मात्र ।
हैन रैछ नदी जस्तो फर्किन नि सक्छ मन ।।

गजलः रहर मेरो

गजलः रहर मेरो
¤ आवाज शर्मा¤


हातमा लिई परेलीले माटो छुने रहर मेरो ।
देश हाँस्छ भने बरु आफू रुने रहर मेरो ।।

परिश्रमले पखालेर यो माटोको दुर्गन्धलाई ।
पसिनाको पँधेरीमा दुःख धुने रहर मेरो ।।

कालो बादल ढाकिएर अँध्यारो छ गाँउबस्ती ।
जली आफै रित्तिएर टुकी हुने रहर मेरो ।।

बिच्छाएर सिँगै जीवन मेरो मातृभूमिलाई ।
आफ्नो शीरभन्दा माथि उठाउने रहर मेरो ।।

मेरो सीप ज्ञान विकेक थोपा रगत रहेसम्म ।
यै धर्तीको पाउ चढाई हाँसी ज्युने रहर मेरो ।।