गजलः तिमी रुन्छ्यौ जब

गजलः तिमी रुन्छ्यौ जब
¤ आवाज शर्मा¤

छियाछिया मुटु हुन्छ तिमी रुन्छ्यौ जब ।
सम्हालिन्छु खुशी हुन्छु तिमी हुन्छ्यौ जब ।।

म हूँ गृष्म खडेरीको कुनै सुक्खा डाली।
पलाउने आशा जाग्छ तिमी छुन्छ्यौ जब ।।

आँशु बग्छ सुस्केरामा जीवन साटिएर ।
त्यही मीठो गीत बन्छ तिमी सुन्छ्यौ जब ।।

कुनै रङ्ग कुनै सुवास नहोस् जिन्दगीको।
पलाँस पनि मगमगाउँछ तिमी चुन्छ्यौ जब ।।

छिरोलिन्छन् कता कता चाहनाका फूल ।
माला बन्छ जिन्दगानी तिमी उन्छ्यौ जब ।।

10/01/11

No comments:

Post a Comment