गजलः साइँला

गजलः साइँला
¤ आवाज शर्मा¤

पाखाभरि बुकी फुल्यो आँखामा बैँस झल्क्यो साइँला ।
राम्री भन्छ जिस्किरन्छ ऐना यतै पल्क्यो साइँला ।।

कोपिलामा रंग चढ्यो, रहर अंग अंग चढ्यो ।
पातभरि सीतसरी लाली ओँठ टल्क्यो साइँला ।।

पछ्यौरीमा समेटिने चाहना छन् नमेटिने ।
दुनियाँका पापी आँखा उतै मन ढल्क्यो साइँला ।।

आफै गाउँछु, आफै सुन्छु, एक्लै हाँस्छु, एक्लै रुन्छु ।
कस्तो साह्रो भन्नै गाह्रो के बिमारी सल्क्यो साइँला ।।

मनमा तिम्रै छाँया बस्यो थाहै नपाई माया बस्यो ।
जानाजानी लुकाउँदा नि गहबाट छल्क्यो साइँला ।।

14/03/2011

No comments:

Post a Comment