गजलः चर्किनदेऊ

गजलः चर्किनदेऊ
¤आवाज शर्मा¤

सीसा जस्तै त हो माया चर्किनेलाई चर्किनदेऊ ।
पोल्यो भन्दा अझै बारुद छर्किनेलाई छर्किनदेऊ ।।

ठिक्कै पर्छन् बरा भन्छन् आँशु पुछ्ने हुन्न कुनै ।
खोजे कैयौँ बहाना छन् तर्किनेलाई तर्किनदेऊ ।।

साखुल्ले भै छुरा घोच्ने भन्छ साँचो मित्र म हूँ ।
पर्दा खोल्दा खुराफाती झर्किनेलाई झर्किनदेऊ ।।

आफ्ना आफ्नै कुरा हुन्छन् पुग्नुपर्ने लक्ष्य कहाँ ।
आधी बाटो छँदै कोही फर्किनेलाई फर्किनदेऊ ।।

काँढा टेक्दै हरेक पाइला हिँड्नु मैले पर्छ जसै ।
सँगै यात्रा गरौँ भन्दै पर्खिनेलाई पर्खिनदेऊ ।।
20/03/2011

No comments:

Post a Comment