गजलः भो भो रुन्न

गजल: भो भो रुन्न
*आवाज शर्मा*


बिना बादल बर्षासरी दर्किन नि सक्छ मन ।
भो भो रुन्न भन्दा पनि धर्किन नि सक्छ मन ।।

नजिक हुन्छन् अरूहरू पराइ हुन्छ आफ्नै बरु ।
जहाँ दुख्छ त्यहीं नुन छर्किन नि सक्छ मन ।।

धमिलिँदै सङ्ले पनि स्नेहले पग्ले पनि ।
मैन जस्तो रैनछ यो चर्किन नि सक्छ मन ।।

कतै ओझेल पर्न सक्छ, नसम्हाले झर्न सक्छ ।
आफै भन्दा कतै टाढा तर्किन नि सक्छ मन ।।

जिन्दगीको लामो यात्रा अन्तिम लक्ष्य सागर मात्र ।
हैन रैछ नदी जस्तो फर्किन नि सक्छ मन ।।

No comments:

Post a Comment