गजलः बगरसंगै

गजलः बगरसंगै
¤आवाज शर्मा¤
¤
बालुवामा रहर कोरी रम्न खोज्दा बगरसंगै ।
दुख्छ छाती हुरी चल्दा भत्किएको खबरसंगै ।।
¤
स्वप्न बाल्दै अँधेरीमा ज्योति खोज्दै थियो कोही ।
बल्झियो ऊ बिरानीमा देख्छु मुर्दा शहरसंगै ।।
¤
लक्ष्य के हो ? कहाँ पुग्ने ? उफ् यो कस्तो नशा होला ?
युद्ध जित्दा अझै पीडा काटिएका सफरसंगै ।।
¤
ओखती हो पिऊँ भन्थेँ बिर्सिने हो बहाना त ।
पिउन थाले झझल्को झन् बढ्छ त्यही अशरसंगै ।।
¤
शंख, चीता र यो आगो मात्र केही बहाना हुन् ।
मारिएथेँ, थियो तिम्रो घात पैलो नजरसंगै ।।
ऽ।ऽऽ ।ऽऽऽ ऽ।ऽऽ ।ऽऽऽ
09/12/2011

गजलः के चाहियो र ?

गजलः के चाहियो र ?
¤आवाज शर्मा¤
¤
बरू जाती नबोल्दै यी कुरा के चाहियो र ?
बचन पुग्छन् कलेजीमैँ छुरा के चाहियो र ?
¤
घरै आगो लगाएसी खरानीको के दुःख ।
मुठी खोज्दै भुले भैगो मुरा के चाहियो र ?
¤
कता जान्छौ यता भट्टी उता छे कामदेवी ?
जुधे आँखा नशा छायो सुरा के चाहियो र ??
¤
सँधै नौला नयाँ खालका बहाना रच्न सक्छ्यौ ।
कसम खायौ सिँदुर पोते चुरा के चाहियो र ??
¤
म आँ गर्दा अलग्गै त्यो अलङ्कार बुझ्न सक्थेँ ।
जो छर्लङ्गै छ आधामा पुरा के चाहियो र ??
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ ।ऽऽ
21/12/2011

गजलः सँगै हो नि

गजलः सँगै हो नि
¤आवाज शर्मा¤

माया भन्नु बत्ती न हो लोभिने त सँगै हो नि !
पर्ख पर्ख हे पुतली होमिने त सँगै हो नि !!

यिनै दुई नजरभित्र हजार आशा बाँचेका छन् !
कतै हाँसो कतै आँशु पोखिने त सँगै हो नि !!

सपनाको सानो गाउँ त्यहीँ हाम्रा रहर फुल्छन् !
बस्तीभित्र कुहिरो पसे छोपिने त सँगै हो नि !!

कुनै मेरा कुनै तिम्रा केही दोष यो समाजका !
दुख्दा छाती तोडिँदा मन तोडिने त सँगै हो नि !!

कहाँ सम्म कुद्ने रै छस् ए जिन्दगी म भन्दा तँ !
धुक्धुकीको चाल रुक्दा रोकिने त सँगै हो नि !!
08/12/2011

गजलः नहोस् बरू

गजलः नहोस् बरू
¤आवाज शर्मा¤
¤
यस्तो बिमार चढे हुन्थ्यो निदान नहोस् बरू ।
पाउ राख्ने ठाउँ मिलोस् सिरान नहोस् बरू ।
¤
आकासका तारा गन्दै झर्दा सँगै झरूँ ।
मलाई त्यो रात देऊ बिहान नहोस् बरू ।।
¤
सजायँ देऊ म सहन्छु ऐया भन्ने छैन ।
को हो दोषी के हो दोष किटान नहोस् बरू ।।
¤
तिम्रा हुकुम मेरो निम्ति अक्षर ढुंगामा झैँ ।
चल्छ, चल्छु, नियम कानुन बिधान नहोस् बरू ।।
¤
सक्छौ भने यस्तो हान्नू आवाज निस्सासियोस् ।
घाउ लागोस् कलेजीमै निशान नहोस बरू ।।
25/11/2011

गजलः याद आयो

गजलः याद आयो
¤आवाज शर्मा¤

उही चोखो प्रेम मीठो निशानीको याद आयो ।
उनी आइन् फेरि उस्तै जवानीको याद आयो ।।

सँधै दुख्ने भाग्य यस्को बिना दोषै रुझ्छ भिज्छ ।
हुँदा एक्लै दुःख साट्ने सिरानीको याद आयो ।।

मधूकरकी मालती झैँ म हूँ भन्थिन् जन्म जन्म
कसम सम्झेँ ती पुराना कहानीको याद आयो

उनी हाँस्दा फूल हाँस्थ्यो म लोभिन्थेँ चाँदनीमा
उनै जादू, कोमलाङ्गी, हिमानीको याद आयो ।
।ऽऽऽ ऽ।ऽऽ ।ऽऽऽ ऽ।ऽऽ
08/11/2011

गजलः तिमी मुस्कुरायौ

गजलः तिमी मुस्कुरायौ
¤आवाज शर्मा¤

जहाँ चस्स दुख्थ्यो उहीँ मुस्कुरायौ ।
छ कस्तो रहस्यऽ मसङ्गै लुकायौ ।।

सक्यौ थाम्न भाला हजारौँ थरीका ।
दुख्यौ किऽ त भन्दै यता सुम्सुम्या यौ ।।

न आधार छ बाँच्ने न पो मर्न दिन्छन् ।
सह्यौ चोट हाँसी मलाई रुवायौ ।।

जता हेर्छु उस्तै थिएँ त्रासदीमा ।
सबै पीर चिन्ता निमेषमै भुलायौ ।।

कुनै छैन बाटो म आवाज सुन्थेँ ।
भई आश मीठो तिमी गुन्गुनायौ ।।
05/11/2011
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ

गजलः मन

गजलः मन
¤आवाज शर्मा¤

पिरोलिन्छ छाती छिरोलिन्छ मन
हुँदै अश्रु बर्खा निचोरिन्छ मन

जहाँ बाल्छु दीयो चोखो प्रेमको
चली दुष्ट आँधी बिथोलिन्छ मन

पराई कसैको गरी सम्झना
सँगै हुन्न आफ्नै बिछोडिन्छ मन

कुनै आँकुरा झैँ पलाएर आश
तुषारो नपर्दै निमोठिन्छ मन

कुनै छैन चिन्ता म हार्दा बरू
अरूले जितेमा चिमोटिन्छ मन

सँधै गुम्सिएको छ आवाज यो
चिरा पर्छ छाती र पोखिन्छ मन

(भुजङ्गी)
04/11/2011

गजलः अभिशाप खोज्दैछु

गजलः अभिशाप खोज्दैछु म
¤आवाज शर्मा¤

निस्सासिएँ आशीषले अभिशाप खोज्दैछु म।
फँस्दा अझै मज्जा बढोस् हो धराप खोज्दैछु म ।।

मेरा सयौँ बाटाहरू मसँगै हराए कतै ।
गन्तब्यमा डोह्र्याउने पदचाप खोज्दैछु म ।।

मात्रै सहेँ घोच्यौ डस्यौ बदला छ बाँकी हिसाब ।
फाँसी हुँदा लज्जा नहोस् त्यति पाप खोज्दैछु म ।।

आडम्बरी मुर्दाहरू त डराउँछन् मर्न रे
लड्दै मरूँ त्यै मृत्युको अनुलाप खोज्दैछु म ।।

आफूसितै बिद्रोहको पुजनीय सिद्धान्तमा
गौरब गरूँ गल्ती हुँदा परिताप खोज्दैछु म ।।
SSIS SSIS IISI SSIS
16/10/2011

गजलः नरम नरम

गजलः नरम नरम
¤आवाज शर्मा¤

बिझ्ला बरू कपासले काँढा नरम नरम किन ?
आगो थियो चिसो बरू यो हिउँ अझै गरम किन ?

कस्तो मिठो उकुसमुकुस, यो छट्पटी र गुद्गुदी
आकासमा उडेँ कि खै? पन्छी सरी भरम किन ?

आफूसितै लुकौँ लुकौ भागौँ कि झैँ सँधै अचेल
विश्वास भो पराइको आफूसितै सरम किन ?

धर्ती भरी म खोज्छु जून छायाँ उता गगनतिर
पाइन्न जे कसै गरी उस्कै खोजी चरम किन ?

SSIS ISIS SSIS ISIS
बहरे रमल मख्बून
14/10/2011

गजलः नरम हुन्छ

गजलः नरम हुन्छ
¤आवाज शर्मा¤

जति साह्रो हान्छौ मुटु त्यत्ति नरम हुन्छ मेरो ।
मुस्कुराउँछु जब त्यही चोट मलम हुन्छ मेरो ।।

मेरो भक्ति मेरो पूजा केवल तिम्रै बरिपरी ।
तिम्रो नाउँ सम्झी आफ्नो घरमा कदम हुन्छ मेरो ।।

अचानो झै बिनादोष छिया छिया बनाएसी ।
बल्ल 'हारेँ' भन्छौ जब ब्यर्थै सरम हुन्छ मेरो ।।

सबै भन्छन् सँधै हाँस्छ्यौ के राज हो यो खुशीको
उजेलीमा आँशु थाम्ने कडा नियम हुन्छ मेरो ।।

साथीहरू सित कुनै गुनासो र द्वेश छैन ।
साँच्चै भनूँ, आफ्नासित अपेक्षै कम हुन्छ मेरो ।।
07/10/2011