गजलः उजेलीलाई

गजलः उजेलीलाई
¤आवाज शर्मा¤

कता छोपूँ उदाएको, उषा लाली उजेलीलाई ।
यसै गाली गर्‍यौ ब्यर्थै, बिहानीको जुरेलीलाई ।।

दुवालीमा के छेकिन्थ्यो, पहाड फोड्ने नदीको बेग् ।
तिमी छेक्ने हिसाब गर्छौ, नदी गर्जन सुसेलीलाई ।।

उमेर संगै सुवास चढ्दा, सयौँ आशा यसै बढ्छन् ।
नफुल बास्ना नछर भन्छौ, बगैचाकी चमेलीलाई ।।

नबुझ्दा नै थियो जाती, बुझेँ उल्टै दुख्यो छाती ।
जवानीमा नसुल्झेका सयौँ तिम्रा पहेलीलाई ।।

ISSS ISSS ISSS ISSS
बहरे हजज
छन्दः विधाता
30/07/2011

गजलः उजेलीलाई

गजलः उजेलीलाई
¤आवाज शर्मा¤

कता छोपूँ उदाएको, उषा लाली उजेलीलाई ।
यसै गाली गर्‍यौ ब्यर्थै, बिहानीको जुरेलीलाई ।।

दुवालीमा के छेकिन्थ्यो, पहाड फोड्ने नदीको बेग् ।
तिमी छेक्ने हिसाब गर्छौ, नदी गर्जन सुसेलीलाई ।।

उमेर संगै सुवास चढ्दा, सयौँ आशा यसै बढ्छन् ।
नफुल बास्ना नछर भन्छौ, बगैचाकी चमेलीलाई ।।

नबुझ्दा नै थियो जाती, बुझेँ उल्टै दुख्यो छाती ।
जवानीमा नसुल्झेका सयौँ तिम्रा पहेलीलाई ।।

ISSS ISSS ISSS ISSS
बहरे हजज
छन्दः विधाता
30/07/2011

गजलः तलास हूँ

गजलः तलास हूँ
¤आवाज शर्मा¤

कस्तुरी म खोजिएर नटुङ्गिने तलास हूँ ।
साथ हुन्छु छुन्छु चुम्छु नदेखिने बतास हूँ ।।

पलाउँदा छट्पटी र उकुस मुकुस नजानिदो
सुस्त सुस्त नीँद खोस्छु बिझाउने कपास हूँ ।

लक्ष्य आफ्नु प्राप्ति आफ्नु खुशी छु यै अभावमा
रातमा नि चम्किरहने म जूनकिरी प्रकास हूँ

भमराको भोग्य वस्तु हुने रहर ममा कहाँ ?
भित्र लुक्छु हो देखिन्नँ पलाँसको सुवास हूँ ।

जिन्दगीको दीप बाल्छु म हुन्छु हर रहरभरि
बाँचेसम्म साथ दिन्छु म आश हूँ म स्वास हूँ ।
20/07/2011

गजलः नेपालीको

गजलः नेपालीको
¤आवाज शर्मा¤

सीमा मिच्यो दशगजामा बास थियो नेपालीको ।
पसिनाको कमाइ लुट्यो गास थियो नेपालीको ।।

हत्कडी हो फेरिएको मात्र जेल हो सारिएको ।
साँच्चै रिहा हुन्छु भन्ने आश थियो नेपालीको ।।

मझधारमा पुग्दैखेरी जानाजानी डुँगा डुब्यो ।
मर्‍यो भनी छाडेपनि सास थियो नेपालीको ।।

केटाकेटी जस्तै गरी आगो खेले रमितेले।
घर जलेर खरानीको रास थियो नेपालीको ।।

खस मधेसी जनजातीको भोज चल्दै थियो यता ।
त्यहीँ कतै छियाछिया लास थियो नेपालीको ।।
14/07/2011

गजलः रात बाँकी रै छ अझै

गजलः रात बाँकी रै छ अझै
¤आवाज शर्मा¤

भर्खरै जून, पारी डुब्यो, रात बाँकी, रै छऽ अझै ।
कुन्नि के भो, निद्रा पुग्यो, रात बाँकी, रै छऽ अझै ।

दुनियाको आँखा छली पाप गर्छन ठूला बडा
फेरि स्यालको हुइयाँ छुट्यो रात बाँकी रै छऽ अझै ।।

साँझ परेसी प्यालासँगै याद पिउँथेँ मात्ने गरी
भुल्छु भन्दा छाती दुख्यो रात बाँकी रै छऽ अझै

मर्नु बाँच्ने दोसाँधमा राख्नु उसको धर्मै थियो ।
माकुरीले जाली बुन्यो रात बाँकी रै छऽ अझै ।।

जिन्दगी मै गन्तब्यहीन लक्ष्यगामी यात्री थिएँ ।
आजकै बास छिट्टै उठ्यो रात बाँकी रै छऽ अझै ।।
14/07/2011

गजलः अझै बाँकी थियो

गजलः अझै बाँकी थियो
¤आवाज सर्मा¤

बेहोसीमा एक्लै पिएँ रात अझै बाँकी थियो ।
होस फिर्दा सम्बन्धको मात अझै बाँकी थियो ।

जिन्दगीकै बाटो अलग हुन्छ यही घुम्तीसँगै ।
गर्नु हुन्थ्यो आजै निधो बात अझै बाँकी थियो ।।

अनयासै हूरी चल्यो झर्न पुग्यो फूल कोपिला ।
पालुवाको पर्खाइमा पात अझै बाँकी थियो ।।

खण्डहरको छेउमै पुगी के छ भनी सोध्यौ जहाँ ।
भत्किएका संकल्पको खात अझै बाँकी थियो ।।

कुन्नि के भो आवाजमा बोल्छु भनेँ भक्कानिएँ ।
चस्स दुख्थ्यो बेला बखत घात अझै बाँकी थियो ।।
12/07/2011
बहरे मुजास अखरम
SISS SSIS SIIS SSIS

गजलः पुतलीको माया

गजलः पुतलीको माया
¤आवाज शर्मा¤

पुतलीको बत्तीसितै माया बस्यो कि ?
धरतीमा आकाशको तारा खस्यो कि ?

जोसुकैले जे जे भनून् ख्यालै भएन ।
ढडियामा माछीसरी जीवन फस्यो कि ?

भर पर्दा बिश्वासमा पैरो चल्यो रे ।
मुटु चिर्दै आफन्तले भाला धस्यो कि ?

किन आँखा साउन बनी बर्सिरहे हँ ?
बेदनाको हूरी चली बाढी पस्यो कि ?

नबोलेरै निस्सासियौ ​ आवाज कहाँ छ ?
पिरती नै फाँसी बनी गला कस्यो कि ?
10/07/2011
(बहरे हजज अस्तर अखरम महजुफ)

गजलः गजल भयो

गजलः गजल भयो
¤आवाज शर्मा¤
.
चुपचाप चुपचाप ठूलै दहल फसल भयो ।
भयो मौन हस्तक्षेप निजत्वमा दखल भयो ।।

कतै तर्के बहानामा झुके आँखा कतै कतै।
थियो केही एक अर्कामा अझै चासो अटल भयो ।।

जुर्मुराए रहरहरू बन्द ओँठ भित्रै गुम्से ।
आँखाहरू नजानिदो जुधे नयाँ पहल भयो ।।

गरिब छन् रे शब्दहरू चाहनाका अर्थभन्दा ।
चुपचाप सम्झौता भो हिउँ पग्ल्यो तरल भयो ।।

उसले सोधी भित्र कतै गुञ्जिदैछ सुन्यौ आवाज ?
मैले केवल ओँठ खोलेँ उसले भनी गजल भयो ।।
04/07/2011