गजलः गाजल सरी म

गजलः गाजल सरी म
¤आवाज शर्मा¤

पखालिएँ आँशुसँगै गाजल सरी म
बर्सिरहे साउनको बादल सरी म

नझुल्केको जून खोज्दै हरेक औँसीमा
भौतारिएँ सिँगै युग पागल सरी म

हर मेला हर उत्सव हुँदै रमिता
बजिरहेँ चोट खाँदै मादल सरी म

ममताले पालिएछु भुलेँ नियती
पर्सिइरहेँ बलि दिने भाकल सरी म

नमेटिने दाग लाग्यो बिना दोषमा
मिल्किइरहेँ कुमारीको आँचल सरी म

गजलः सोध्नै पाइनँ

गजलः सोध्नै पाइनँ
¤आवाज शर्मा¤

सोध्नै पाइनँ झरेको फूल चुन्थ्यौ चुन्दिनथ्यौ
मनको माला गाँस्दा सँगै उन्थ्यौ उन्दिनथ्यौ

रहरहरू छिरोलिइ आफै हराउँदा
छाती पिटी रूँ रूँ ला थ्यो सुन्थ्यौ सुन्दिनथ्यौ

एउटै हाम्रो बाटो थियो पुग्ने एउटै ठाऊँ
मलाई आफ्नो सहयात्री गुन्थ्यौ गुन्दिनथ्यौ

छट्पटीमा बिताएका एक्ला रातहरू
साउने भेल बन्दाखेरि थुन्थ्यौ थुन्दिनथ्यौ

पर्खाइमा पिल्सिएका आशा ढलेपछि
मन भुलाउने माकुरी जाल बुन्थ्यौ बुन्दिनथ्यौ

गजलः रहर एउटा जिन्दगी

गजलः जिन्दगी
¤ आवाज शर्मा¤

हरेक दिन अलग आशा रहर एउटा जिन्दगी हो ।
हाँसिहाँसी पिउनै पर्ने जहर एउटा जिन्दगी हो ।।

नमेटिने तृष्णाहरू पीडा बन्छन् पालैपालो ।
जन्ममृत्यु छटपटी कहर एउटा जिन्दगी हो ।।

नजितिने युद्ध एउटा नटुङ्गिने एउटा रीत ।
अपमानको सम्झौता र ठहर एउटा जिन्दगी हो ।।

भोकाएका नजर कतै, रित्ता मन जताततै ।
आँफैसित अपरिचित शहर एउटा जिन्दगी हो ।।

शान्त कुनै तलाउमा ढुंगा फालेँ अनि बुझेँ ।
क्षणमै उर्ली हराउने लहर एउटा जिन्दगी हो ।।

गजलः सुनुँसुनूँ लाग्यो ।

गजलः सुनुँसुनूँ लाग्यो ।
¤ आवाज शर्मा¤

तिमी बोल सुन्छु है त ? सुनुँसुनूँ लाग्यो ।।
मायाको फूल उन्छु है त ? उनुँउनूँ लाग्यो ।।

भत्केला कि संगालेको , मनको दह मेरो ?
बाँध बाँधी थुन्छु है त ? थुनुँथुनूँ लाग्यो ।

आफ्नै भन्दा तिम्रो माया, थपिदैँछ अझै
अझै थप्न गुन्छु है त ? गुनुँगुनूँ लाग्यो ।

प्रकृतिका हजारौँ रङ, आँखा वरिपरि ।
तिम्रै रुप चुन्छु है त ? चुनुँचुनूँ लाग्यो ।।

बरालिने मनै त हो, जालमा पारूँ जस्तो ?
माकुरी जाल बुन्छु है त ? बुनुँबुनूँ लाग्यो ।।

गीति गजलः मेरा गीतहरू

गजलः मेरा गीतहरू
¤ आवाज शर्मा¤

आफ्नै मेला पर्म आफ्नै पँधेरीका गीत गाएँ ।
जूनताराका कुरा छोडी मझेरीका गीत गाएँ ।।

मन उज्यालो भएदेखि औँसीको के डर भयो ?
साथी भयो जूनकिरी अँधेरीका गीत गाएँ ।।

म जन्मेको मेरो माटो बिर्सेँभने पाप लाग्छ ।
बुकी फुल्ने मेरै पाखा पखेरीका गीत गाएँ ।।

सुख सयल आनन्दका कुरा मैले जान्दिनँ भो
जे जे भोगेँ झरी बर्खा खडेरीका गीत गाएँ

गजलः जानाजानी हार्न पाऊँ

गजलः जानाजानी हार्न पाऊँ
¤ आवाज शर्मा¤

पिरतीको चोखो फूल मनभरि सार्न पाऊँ ।
बाँधी सीमा हृदयको वरिपरि बार्न पाऊँ ।।

सँधै तिम्रै जिन्दगीको नछुटिने अंग हुन्थेँ ।
त्यस्तो एउटा जाल बुनेर आफैलाई पार्न पाऊँ ।।

तिम्रै छाँया बन्न सके जिन्दगीको अर्थ खुल्थ्यो ।
तिमीसित आँखा जुध्दा आफ्ना नजर झार्न पाऊँ ।।

रमाउँथेँ तिमीसँगै खुशीयाली मनाउँदै ।
तिमीलाई जिताउन जानाजानी हार्न पाऊँ ।।

जिन्दगी त नदी न हो सुख दुःख दुई किनारा ।
हात समाई सयौँ नदी तर्न पाऊँ तार्न पाऊँ ।।

गजलः एउटै को ?

गजलः त्यो एउटै को ?
¤आवाज शर्मा¤

गह भर्दा आँशुसँगै बग्ने एउटै को ?
दुःख पर्दा जुनीभरी तग्ने एउटै को ?

दीपशिखा वरिपरी हजार पुतली ।
निभ्दै गर्दा त्यसमा तेल थप्ने एउटै को ?

जता जाऊँ मन्दिर मस्जिद हजार धाम छन् ।
आँशु झर्दा हृदयले जप्ने एउटै को ?

ठूलो जंघार रै छ जीवन हजार बाधा छन् ।
पारी तर्दा हात समाई लग्ने एउटै को ?

गजलः चेलीको मन दुख्यो अरे

गजलः चेलीको मन दुख्यो अरे
¤आवाज शर्मा¤

मखमली ओइलियो तेलधारा सुक्यो अरे
माइतीको बाटो कुर्दा चेलीको मन दुख्यो अरे

झिलिमिली बत्ती बल्यो सेलको मीठो बास चल्यो
छताछुल्ल आशु बग्यो बह मनमै लुक्यो अरे

देउसी भैलो खेल्दै आए चेली माइती नाचे गाए
सँगीसाथी रमाउँदा उन्को नजर झुक्यो अरे

सप्तरङ्गी उतै रह्यो यता निधार खाली भयो
यसपालीको साइत पनि हेर्दा हेर्दै चुक्यो अरे

अब धेरै रुनु हुन्न सँधै टाढा हुनु हुन्न
छिट्टै फर्की आऊ भन्छिन अब मुग्लान पुग्यो अरे

गजलः गरिबको दशैँ

गजलः गरिबको दशैँ
¤ आवाज शर्मा¤

दशै आयो ठूलाघरमा खसी ढालियो रे ।
मीठो खाँदै नयाँ राम्रा लुगा हालियो रे ।।

कति दशैँ बिते यसै खाली रह्यो निधार ।
आउँछ कि त भन्दै झुटा आशा पालियो रे ।।

रङ्गीचङ्गी रमिता छ गाऊँ बस्ती तिर ।
बाको उही झुत्रो कछाड भोटो टालियो रे ।।

लालबाला खुशी छन् रे आँखा भरी आशा ।
पोहोर जस्तै पापी ऋणको आगो बालियो रे ।।

गरिबको चाड पनि आँशु सँगै बग्यो ।
रुँदै रात सुस्केरामा दिन फालियो रे ।।