गजलः पुर्णिमाको मज्जा

गजलः पुर्णिमाको मज्जा
¤आवाज शर्मा¤

पुर्णिमाको मज्जा कहाँ रातै नभै त ।
त्यो नशा खै के को नशा मातै नभै त ।।

छट्पटीमा भिज्दै गयो तिम्रो सिरानी ।
मर्म यस्को खुल्ला र खै?! बातै नभै त ।।

फूल छाडी काँढा चुन्यौ बाटो बिरायौ ।
चोट प्यारो लाग्थ्यो कहाँ घातै नभै त ।।

भेट यस्ता आत्मीय छन् भुल्नै नसक्ने ।
नाउँ के दिऊँ ? सम्बन्धको नातै नभै त ।।

पालुवा हो यो जिन्दगी मौसम अनेकौ ।
फूलकै के अस्तित्व भो पातै नभै त ।।
27/08/2011

गजलः रातै हुँदैन

गजलः रातै हुँदैन
¤आवाज शर्मा¤

उज्यालो मन भैदिएमा रातै हुँदैन ।
अँध्यारोमा हिड्न जाने घातै हुँदैन ।

सबै केबल स्वार्थ साँध्ने आडम्बरी रे ।
कता खोज्छौ सत्य साँचो नातै हुँदैन ।।

पढे सक्छौ जिन्दगी यो, आऊ तयार छु ।
खुला पुस्तक बन्छु छोप्ने गातै हुँदैन ।।

सबै आफ्ना मात्र हुन्छन् हुन्नन् पराई ।
जहाँ भाषा, धर्म, संस्कार, जातै हुँदैन ।।

इशारामै खुल्छ प्रत्येक गम्भीर रहश्य ।
यहाँ आँखा आत्म बोल्छन् बातै हुँदैन ।।
24/08/2011

गजलः रोएको छु

गजलः रोएको छु
¤आवाज शर्मा¤

कैले दुख्दै रोएँ कैले दुखाउँदै रोएको छु
कैले झुक्दै रोएँ कैले झुकाउँदै रोएको छु

नियतीका प्रहारसँगै कैले यता कैले उता
कैले जुध्दै रोएँ कैले जुधाउँदै रोएको छु

छातीभित्रै आगो बल्दा उसिनिने मन मेरो
कैले बुझ्दै रोएँ कैले बुझाउँदै रोएको छु

एउटै नदी साझा डुङ्गा कोशौ टाढा दुइटा मन
कैले डुब्दै रोएँ कैले डुबाउँदै रोएको छु

बाँधिएर जुगैभरी पराइको अँगालोमा
कैले लुट्दै रोएँ कैले लुटाउँदै रोएको छु
24/08/2011