गजलः उनी थिइन्

गजलः उनी थिइन्
¤आवाज शर्मा¤

बाँधिएथ्यौँ अँगालोमा करेलीमा उनी थिइन् ।
त्यहीँ थियो चोखो माया भरेलीमा उनी थिइन् ।।

गाई बाख्रा चराउँदै सालैजोमा कुरा गर्थ्यौँ ।
चुल्ठो माथि बुकी उन्दा टरेलीमा उनी थिइन् ।।

सँगै गर्थ्यौ लेक बेशी सँगै जान्थ्यौ मेलापात ।
अर्म पर्म सँगै थियो परेलीमा उनी थिइन् ।।

तिर्सना भै मोतिदाना पसिना झै तप्प झर्थे ।
सँगै होस्टे हैँसे गर्थ्यौँ झरेलीमा उनी थिइन् ।।

अझै पनि ताजा पाउँछु झझल्कोमा 'बाला'पन ।
नमेटिने सम्झनाका तरेलीमा उनी थिइन् ।।
24/04/2011

गजलः कहाँ छ ?

गजलः कहाँ छ ?
¤आवाज शर्मा¤

म भन्छु नियम् र बिधान कहाँ छ ?
दवाइ छ अवश्य निदान कहाँ छ ??

न शीर न पाउ कतै छ कि भेउ ?
गर्यौ कि तलास सिरान कहाँ छ ??

नबेच त भन्छु म के छ र बेच्नु ?
छ मात्र शरीर इमान कहाँ छ ??

अगाडि छ जे छ मसान सरी छ ।
र फेरि नसोध चिहान कहाँ छ ??

अझै त छ देश छ सूर्य र चन्द्र ।
हराउन सक्छ निशान कहाँ छ ??
16/04/2011

गजलः गाउँ प्यारो

गजलः गाउँ प्यारो
¤आवाज शर्मा¤

मलाई मेरै गाउँ प्यारो
म जन्मेकै ठाउँ प्यारो

नजर छोपी सुस्त बोली
म हूँ भन्थ्यौ नाउँ प्यारो

नरोऊ भन्थेँ आशुँ झार्दा
पिरो खट्टा पाउँ प्यारो

थियो हाम्रो प्रीत चोखो
लगानीकै साउँ प्यारो

मलाई मेरै गाउँ प्यारो
म जन्मेकै ठाउँ प्यारो

16/04/2011

गजलः आज फेरि पनि

गजलः आज फेरि पनि
¤आवाज शर्मा¤

झझल्कोमा तप्प आँशु खस्यो आज फेरि पनि ।
निस्सासिँदो सम्झनाले कस्यो आज फेरि पनि ।।

जून थियो लाखौँ लाख तारा थिए आकासमा ।
जस्लाई रोजेँ त्यही तारा खस्यो आज फेरि पनि ।।

बल्झिएको घाउ थियो अल्झिएको झिनो आशा ।
त्यही आशा बिषालु भै डस्यो आज फेरि पनि ।।

भुलूँ भन्छु कति कुरा अझै गाढा हुन्छन् किन ।
छातीभित्रै शूल बनी बस्यो आज फेरि पनि ।।

भन्नै पर्ने थिए कति शब्द कहाँ कहाँ दुखे ।
मेरो आवाज भुमरीमा पस्यो आज फेरि पनि ।।
14/04/2011
नयाँ वर्ष-2068