गजलः तारा खस्दा रातभरी

गजलः रातभरी
¤ आवाज शर्मा¤


खसिरहेँ आफै पनि तारा खस्दा रातभरी ।
बर्सिरहेँ आँशुसँगै जागा बस्दा रातभरी ।।

उडाएर लग्यो कतै टाढा भयो मेरै मन ।
निस्सासिएँ सम्झनाको हूरी पस्दा रातभरी ।।

नभेटिने दूरी बन्छ जति जति नजिक जान्छु ।
छटपटिएँ एकान्तले गला कस्दा रातभरी ।।

गल्ती देख्यो कोपिलामा रंग चढ्नु बसन्तले ।
तड्पिरहेँ नियतीले छुरी धस्दा रातभरी ।।

पलपल लागिरह्यो तिमीसँगै जूनमा आऊँ ।
अतासिएँ विरहले डस्दा डस्दा रातभरी ।।

गजलः यक्ष प्रश्न

गजलः यक्ष प्रश्न
¤ आवाज शर्मा¤


मुटुभित्र माटो राखी आँशु झर्‍यो र ?
सिङ्गो युगमा कुनै साँचो सपूत मर्‍यो र ?

अनेक् कुण्ठा बोक्यौँ आफ्नै छानो उधार्र्यौँ ।
आमा जस्ती देशको कसले माया गर्‍यो र ??

अशान्तीको आगो रोप्यौँ धर्ती जलायौँ ।
खरानीको खेतीले कहीँ सितल छर्‍यो र ??

आफ्नै भाइको गला रेट्यौँ पराई घुर्क्यायौँ ।
चह्र्याएको घाउमा कतै मल्हम
पर्‍यो र ??

घरभित्रै ब्वाँसो पाल्यौँ स्याल
धपायौँ ।
जित्यौँ भन्यौँ त्यस्तो कुनै दशा टर्‍यो र ??

गजलः सिकार गर्ला र ?

गजलः सिकार गर्ला र ?
¤आवाज शर्मा¤


बोकेको कुकुरले सिकार गर्ला र ?
गुलेली सोझ्याउँछौ तारा झर्ला र ?

देखियो उपती नि मैँ हूँ भन्नेका
गफै हुन् ताइँ न तुइँ माखो मर्ला र ?

मरिन्छ भोकभोकै कर्मै नगरे
दुहेरै कहिल्यै दुध डोको भर्ला र ?

उडेका चरीलाई झार्छौँ रामाराम्
तालमा जालथाप्दा चरो पर्ला र ?

गर्छ कि त्यहीपनि खै त पत्याको
ठडियो हुटिट्याऊँ बाधा टर्ला र ?

गजलः दोष किन ?

गजलः दोष किन ?


¤आवाज शर्मा¤





आफ्नै धनु चुँडियो त सिकारलाई दोष किन ?

भन्ने एउटा गर्ने एउटा विचारलाई दोष किन ?



अल्छे तिघ्रो स्वादे जिब्रो भोकै मर्ने दशा आयो ।

पाखुराले लाप्पा खेल्यो निधारलाई दोष किन ?



पर्‍यो नि त हुनु पनि रंग ढंग आफूसित

आफ्नै सूरताल चिप्ल्यो सितारलाई दोष किन ?



आँखा चिम्ली हिडेपछि खाल्टो पनि देखिदैन ।

ठोक्किन्छ नि बाटो छाडे दिवारलाई दोष किन ?



अगुवा नै समाजका बेथितीका खल भए ।

आफ्नै धोती सम्हाले भो विहारलाई दोष किन ?

गजलः जन्ममृत्यु

गजलः जन्ममृत्यु


¤आवाज शर्मा¤



संसार जित्ने धेरै भए काल भन्दा अघि को छ ?

बिधाताले बढाएको चाल भन्दा अघि को छ ?



बाँचुञ्जेल तेरो मेरो सँसारकै सेरोफेरो

जन्ममृत्यु रचनाको छालभन्दा अघि को छ ?



भाग्ने पनि ठाउँ छैन बस्छु भन्नै पाइदैन ।

यमराजले बिच्छाएको जालभन्दा अघि को छ ?



इशारामै चल्नुपर्ने जाग्नुपर्ने ढल्नुपर्ने

प्रकृतिले बजाएको तालभन्दा अघि को छ ?

गजलः युद्धबन्दी

गजलः युद्धबन्दी


¤आवाज शर्मा¤





जुनीभरी साथ चाहे जन्मनाता तोड्नुपर्छ ।

पराइलाई आफ्नो मानी आफ्ना सबै छोड्नुपर्छ ।।



एकै धर्को सिन्दुरले चरणकी दासी बनी,

जति टुक्रा परोस् मुटु कर्तव्यले जोड्नुपर्छ ।।



झुकाउनु छ शीर सँधै आफ्नो हार स्विकारेर,

पहिचान मेटाएर नामै अन्त मोड्नुपर्छ ।।



प्रेम हो कि युद्ध हो यो ? या हो आत्म समर्पण ?

सँस्कार यो दासत्वको जीवनभरी ओढ्नुपर्छ ।।



असमान सम्झौता यो युद्धबन्दी अर्धाङ्गिनी,

अति भयो, कुसँस्कारको साङ्लो अब फोड्नुपर्छ ।।

गजलः पक्कै होला

गजलः माटो पक्कै होला
¤ आवाज शर्मा¤

नेपाली हूँ भन्दा रै छौ आफ्नो माटो पक्कै होला ।
मेचीकाली डाँको छोड्दा दुख्ने खाटो पक्कै होला ।।

स्वर्गै पाएँ ईन्द्रै भेटेँ, तिम्रा फुर्ती हावादारी ।
हाँसो रोदन् त्यो जीवनको दोस्रो पाटो पक्कै होला ।।

तिम्ले कोटी दौलत् जोड्यौ आफ्नै छानो भत्क्यो साथी ।
आमा बिर्स्यौ आत्मा बेच्यौ धन् कै साटो पक्कै होला ।।

प्वाँख् हालेसी बीसोटा दोष् लाएका हौ थाहा पाएँ ।
माटो खोस्रे यै धर्तीमा खाने आटो पक्कै होला ।।

यै माटोको धूलो खेल्दा थाक्ने छैनन् मेरा गोडा ।
झर्दै जाँदा ओरालीमा चढ्ने बाटो पक्कै होला ।।

गजलः अझै मीठो

गजलः अझै मीठो

¤ आवाज शर्मा¤





पछ्यौरीमा जवानी त्यो लुकाएको अझै मीठो ।

लजाए झैँ परेली ती झुकाएको अझै मीठो ।।



नबोलेरै सतायौ है म रोएको निको मान्यौ ।

रिसाए झैँ रुखो बोल्दै दुखाएको अझै मीठो ।।



झुके आँखा ढल्यो सन्ध्या निशा छायो भयौ टाढा ।

दियो बाल्दै जली आत्मा सुकाएको अझै मीठो ।।



कुनै मीठो इशाराले नजिक् तान्यौ जितीहाल्यौ ।

दिई माया सबै कर्जा चुकाएको अझै मीठो ।।


तिमी आयौ उषा छायो चुम्यौ आँखा उज्यालो भो ।

बिहानी भै सबै बाधा फुकाएको अझै मीठो ।।

गजलः भदौरे झरी

गजलः भदौरे झरी
¤ आवाज शर्मा¤


गरूँ के कुरा यो भदौरे झरीको ।
कहानी नमीठो अनेकौँ थरीको ।।

बगायो कतैको डुबायो कसैको ।
छुटायो पिरिम् त्यो भँगेरी चरीको ।।

हिँडेका पुगेनन् परे रे बिचैमा ।
बिचल्ली भयो रे बचेरा धरीको ।।

बढेको छ कोशी चढेको छ काली ।
बिरानो भयो त्यो पँधेरी सरीको ।।

दुखायो नमीठो असाध्यै झरीले ।
टुटायो खुशी यी परेली भरीको ।।

गजलः जुन रोयो ।


गजलः जुन रोयो

¤ आवाज शर्मा¤


मिर्मिरे भो भाले बास्दा तारासँगै जुन रोयो ।

चुँडिएको तार गाँस्दा सारङ्गीको धुन रोयो ।


कोपिलामै मात रोयो फूल रोयो पात रोयो

टप्प टिपी बाली मास्दा पारखीको गुन रोयो ।


उज्यालो भो रात रोयो छुट्नुपर्दा साथ रोयो

खुशी हुने रहर बाँच्दा आशा आकास छुन रोयो ।


धर्ती रोयो सगर रोयो नदी रोयो बगर रोयो

घोटिएर जाँच्दा जाँच्दा अकबरी सुन रोयो ।


हिमाल पहाड तराइ रोयो आफूसित पराई रोयो

छातीभित्र भित्र टाँस्दा मन विरानो हुन रोयो ।

गजलः सम्झनाका तश्वीरहरू

गजलः सम्झनाका तश्वीरहरू
¤ आवाज शर्मा¤


तिर्खाउँदा झरनाको कलकल सम्झेँ ।
लाँकुरीको चिसो हावा झलझल सम्झेँ ।।

सालको पात बजाउँदै मनका कुरा खोल्दै ।
सैँ साथीलाई भेट्नैपर्ने तलतल सम्झेँ
।।

बनपाखा मेलापात सँधै अर्म पर्म ।
नुहाइने पसिनाको खलखल सम्झेँ ।।

बिसाउँदा चौतारीमा मिठो निद्रा दिने ।
आफ्नोपना ममताको मलमल सम्झेँ ।।

पाखण्डको बजारमा बिक्रि भए पछि
कुम्भिपाक शहरको दलदल सम्झेँ ।।

सम्पत्तीले किनिएन एकै चिम्टी खुशी
जननी र जन्मभूमि पलपल सम्झेँ ।।

गजलः अचम्म भो ।

गजलः अचम्म भो
¤ आवाज शर्मा¤


तिर्खाएको प्यासी छेउमैँ खोली पुग्यो अचम्म भो ।
बिना दुल्हा , बिना जन्ती डोली पुग्यो अचम्म भो ।

हिजै गर्थेँ आजै गर्छु धक्कु लाउँथ्यो पाखण्डीले ।
बेला आयो सर्‍यो भाखा भोली पुग्यो अचम्म भो ।

लुकाउँथ्यो ढुँग्रो कतै मोही माग्दा मगन्तेले ।
आशिर्वाद माग्न आज झोली पुग्यो अचम्म भो ।

बैकुण्ठका प्रभु आफै भक्त खोज्दै धर्ती झरे ।
जो नास्तिक हो पैला उस्कै सोली पुग्यो अचम्म भो ।।

सतीले त सरापेकै माटो हो यो बाले
भन्थे ।
जे भने नि पत्याउँदैन्थेँ , बोली पुग्यो अचम्म भो ।

गजलः मेरो देश

गजलः मेरो देश
¤ आवाज शर्मा¤


बिझेको छ काँडो , मेरो देश भन्छ ।
अशान्ति भो घाँडो , मेरो देश भन्छ ।

अभिशाप भए बीरताका कथा
नजागेको खाँडो , मेरो देश भन्छ

यही छाती चोखो ममता हो धर्ती
बनेको छ ठाँडो मेरो देश भन्छ

जकडियो कता अडकियो कता
फुकाइदेऊ चाँडो मेरो देश भन्छ

राष्ट्रघाती तत्व हामी माझै छ रे
कटाइदेऊ डाँडो मेरो देश भन्छ

गजलः शव्द शव्द

गजलः शव्द शव्द
¤ आवाज शर्मा¤


शव्द शव्द पग्लिएर, आँखाबाट लडेपछि ।
अझै बुझ्न सकेनौ र ? थोपा थोपा
पढेपछि ।।

तिमी भन्छौ अधर खोल, नजर मात्रै बोले किन ?
कहाँ सकेँ ऐया भन्न ? मुटुमै तीर
गढेपछि ।।

आश्वासनका मीठा मीठा, तिम्रा बाचा
आँखाभरि ।
सितलो म कता खोजूँ ? भित्री मनै
डढेपछि ।।

सतहमा तिमी खोज्छौ, व्यथा भित्रै
गढेको छ ।
कहाँ यसै निको हुन्थ्यो ? गहिरो ज्वरो चढेपछि ।।

पलपल लुटिनुको, मर्म भित्रै मर्माहत
छु ।
दुख्नुभन्दा धेरै माथि, मनको जलन
बढेपछि ।।

गजलः साउने झरी

गजलः साउने झरी
¤ आवाज शर्मा¤

काली घटा सगरभरी फिँजाउन आऊ
बर्षिएर साउने झरी भिजाउन आऊ ।।

कैले घाम कैले छायाँ नदिएर थाहै
रुप फेरी घरीघरी गिज्याउन आऊ ।।

जुन खोज्दा जुनै छोप घाम खोज्दा घामै
हप्तैभरी झरी परी झिँज्याउन आऊ ।।

उरालेर नदी खोला सुसाएर पाखा
मनै दोमन हुने गरी बिझाउन आऊ ।।

बलेको छ धरती यो तातो आगो सरी
मूल फुटाई सुधासरी रिझाउन आऊ ।।