गजलः अचेल सम्झनामा

गजलः अचेल संझनामा
¤आवाज शर्मा¤
¤
दुख्यो, दुख्छ छाती अचेल संझनामा ।
दुखे मान्छु जाती अचेल सम्झनामा ।।
¤
कतै चस्स घोच्दै चिरा पार्छ आशा ।
रुँदै बित्छ राती अचेल सम्झनामा ।।
¤
गयो फेरि फर्की र ऊ आउँदैन ।
रह्यो याद घाती अचेल सम्झनामा ।।
¤
उज्यालो छ प्यारो दियोकै छ पूजा ।
जल्यो जल्छ बाती अचेल सम्झनामा ।।
¤
गरी लाख बिन्ती फगत ढुङ्गो ढोगेँ ।
सुक्यो फूलपाती अचेल सम्झनामा ।।
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ
20/02/2012

गजलः भन्यौ रे हो ?

गजलः भन्यौ रे हो ?
¤आवाज शर्मा¤

भन्यौ रे हो ? नपढ्नेको दिमाग बोधो हुन्छ ।
र ढाँटेसी झुटो बाँङ्गो समेत सोझो हुन्छ ।।

नजानूँला, छलिञ्जेली अनेक रङ पोतेर ।
कुरुप मनको छ जो उस्कै शरीर गोरो हुन्छ ।।

गुन्यू चोली लगाएकी भेट्यौ हेप्यौ फेरि ।
लुगा छोटो लगाउनेको सोँचै खोटो हुन्छ।।

जरूवाको चिसो पानी पिएको हूँ पाखे ।
त्यही पानी सरी मनमा माया चोखो हुन्छ।।

यिनै हातमा धुलो देखी छि भन्ने ए मैयाँ ।
मेरा यी हात धोए तिम्रो शहर भोको हुन्छ ।।
09/02/2012