गजलः जुन रोयो ।


गजलः जुन रोयो

¤ आवाज शर्मा¤


मिर्मिरे भो भाले बास्दा तारासँगै जुन रोयो ।

चुँडिएको तार गाँस्दा सारङ्गीको धुन रोयो ।


कोपिलामै मात रोयो फूल रोयो पात रोयो

टप्प टिपी बाली मास्दा पारखीको गुन रोयो ।


उज्यालो भो रात रोयो छुट्नुपर्दा साथ रोयो

खुशी हुने रहर बाँच्दा आशा आकास छुन रोयो ।


धर्ती रोयो सगर रोयो नदी रोयो बगर रोयो

घोटिएर जाँच्दा जाँच्दा अकबरी सुन रोयो ।


हिमाल पहाड तराइ रोयो आफूसित पराई रोयो

छातीभित्र भित्र टाँस्दा मन विरानो हुन रोयो ।

No comments:

Post a Comment