गजलः युद्धबन्दी

गजलः युद्धबन्दी


¤आवाज शर्मा¤





जुनीभरी साथ चाहे जन्मनाता तोड्नुपर्छ ।

पराइलाई आफ्नो मानी आफ्ना सबै छोड्नुपर्छ ।।



एकै धर्को सिन्दुरले चरणकी दासी बनी,

जति टुक्रा परोस् मुटु कर्तव्यले जोड्नुपर्छ ।।



झुकाउनु छ शीर सँधै आफ्नो हार स्विकारेर,

पहिचान मेटाएर नामै अन्त मोड्नुपर्छ ।।



प्रेम हो कि युद्ध हो यो ? या हो आत्म समर्पण ?

सँस्कार यो दासत्वको जीवनभरी ओढ्नुपर्छ ।।



असमान सम्झौता यो युद्धबन्दी अर्धाङ्गिनी,

अति भयो, कुसँस्कारको साङ्लो अब फोड्नुपर्छ ।।

No comments:

Post a Comment