गजलः निभेको दीयो

गजलः निभेको दीयो
¤ आवाज शर्मा¤

निभिसक्यो दीयो अब तेल थप्नु किन ?
हारिसके पछि फेरि खेल थप्नु किन ??

जिन्दगी नै हरेक अर्थ कैदसरी भए ,
घाउ बल्झाइ सम्झनाको नेल थप्नु किन ??

आफैलाई ढाँटेकोछ आफ्नै नियतीले ।
त्यसैमाथि फेरि अर्को झेल थप्नु किन ??

थाहा छैन कहाँ पुग्ने कहा पुगिएछ ?
मझधारमा फँसेकैलाई भेल थप्नु किन ??

चाहनाका 'आवाज'हरू भित्रै गुम्सेका छन् ।
आफ्नै मन फाँसी भए जेल थप्नु किन ??

03/02/2011

No comments:

Post a Comment