गजलः चेलीको मन दुख्यो अरे

गजलः चेलीको मन दुख्यो अरे
¤आवाज शर्मा¤

मखमली ओइलियो तेलधारा सुक्यो अरे
माइतीको बाटो कुर्दा चेलीको मन दुख्यो अरे

झिलिमिली बत्ती बल्यो सेलको मीठो बास चल्यो
छताछुल्ल आशु बग्यो बह मनमै लुक्यो अरे

देउसी भैलो खेल्दै आए चेली माइती नाचे गाए
सँगीसाथी रमाउँदा उन्को नजर झुक्यो अरे

सप्तरङ्गी उतै रह्यो यता निधार खाली भयो
यसपालीको साइत पनि हेर्दा हेर्दै चुक्यो अरे

अब धेरै रुनु हुन्न सँधै टाढा हुनु हुन्न
छिट्टै फर्की आऊ भन्छिन अब मुग्लान पुग्यो अरे

No comments:

Post a Comment