गजलः रहर एउटा जिन्दगी

गजलः जिन्दगी
¤ आवाज शर्मा¤

हरेक दिन अलग आशा रहर एउटा जिन्दगी हो ।
हाँसिहाँसी पिउनै पर्ने जहर एउटा जिन्दगी हो ।।

नमेटिने तृष्णाहरू पीडा बन्छन् पालैपालो ।
जन्ममृत्यु छटपटी कहर एउटा जिन्दगी हो ।।

नजितिने युद्ध एउटा नटुङ्गिने एउटा रीत ।
अपमानको सम्झौता र ठहर एउटा जिन्दगी हो ।।

भोकाएका नजर कतै, रित्ता मन जताततै ।
आँफैसित अपरिचित शहर एउटा जिन्दगी हो ।।

शान्त कुनै तलाउमा ढुंगा फालेँ अनि बुझेँ ।
क्षणमै उर्ली हराउने लहर एउटा जिन्दगी हो ।।

No comments:

Post a Comment