गजलः रातै हुँदैन
¤आवाज शर्मा¤
॰
उज्यालो मन भैदिएमा रातै हुँदैन ।
अँध्यारोमा हिड्न जाने घातै हुँदैन ।
॰
सबै केबल स्वार्थ साँध्ने आडम्बरी रे ।
कता खोज्छौ सत्य साँचो नातै हुँदैन ।।
॰
पढे सक्छौ जिन्दगी यो, आऊ तयार छु ।
खुला पुस्तक बन्छु छोप्ने गातै हुँदैन ।।
॰
सबै आफ्ना मात्र हुन्छन् हुन्नन् पराई ।
जहाँ भाषा, धर्म, संस्कार, जातै हुँदैन ।।
॰
इशारामै खुल्छ प्रत्येक गम्भीर रहश्य ।
यहाँ आँखा आत्म बोल्छन् बातै हुँदैन ।।
24/08/2011
No comments:
Post a Comment