गजलः रोएको छु

गजलः रोएको छु
¤आवाज शर्मा¤

कैले दुख्दै रोएँ कैले दुखाउँदै रोएको छु
कैले झुक्दै रोएँ कैले झुकाउँदै रोएको छु

नियतीका प्रहारसँगै कैले यता कैले उता
कैले जुध्दै रोएँ कैले जुधाउँदै रोएको छु

छातीभित्रै आगो बल्दा उसिनिने मन मेरो
कैले बुझ्दै रोएँ कैले बुझाउँदै रोएको छु

एउटै नदी साझा डुङ्गा कोशौ टाढा दुइटा मन
कैले डुब्दै रोएँ कैले डुबाउँदै रोएको छु

बाँधिएर जुगैभरी पराइको अँगालोमा
कैले लुट्दै रोएँ कैले लुटाउँदै रोएको छु
24/08/2011

No comments:

Post a Comment