गजलः फेरी रातको कुरा
¤ आवाज शर्मा¤
उज्यालोमा जिउँछु म फेरी रातको कुरा किन ?
विश्वासमा जिउँछु म फेरी घातको कुरा किन ?
म खोज्दिनँ उनका हरेक इशारामा नशा चढोस् ,
समर्पणमा जिउँछु म फेरी मातको कुरा किन ?
जति थिए हामी बीच पर्खाल सबै ढलेका छन् ।
पिरतीमा जिउँछु म फेरी जातको कुरा किन ?
किन खोजूँ झरिजाने पहेलपूरे पोथ्राहरू ?
पालुवामा जिउँछु म फेरी पातको कुरा किन ?
No comments:
Post a Comment