गजलः यहाँ कोही

गजलः यहाँ कोही
¤आवाज शर्मा¤

अरू निभे निभ्न मात्रै बल्छन् यहाँ कोही
नेपथ्यका चालसङ्गै चल्छन् यहाँ कोही

पाए जरा सम्म खन्छन् आफ्नै जमीन् हुन्न
टुप्पातिरै उम्रिएसी ढल्छन् यहाँ कोही

सत्तो सराप ब्यर्थ आरोप नाना कुरा काट्छन्
खाँचो परे पाउ उस्कै मल्छन् यहाँ कोही

कोक्याउँछन् डस्न सक्छन् घातै समेत गर्छन्
औला उठे कर्कलो झैँ गल्छन् यहाँ कोही

भन्छौ तिमी जल्नलाई आगै नभै हुन्न
म झुल्किनै हुन्न सत्ते जल्छन् यहाँ कोही
SSIS SISS SSIS SS
बहरे मुजास मक्तुअ
25/09/2011

No comments:

Post a Comment