गजलः हुनुपर्थ्यो

गजलः हुनुपर्थ्यो
¤आवाज शर्मा¤

मुखमा लगाम आकांक्षामा अंकुस हुनुपर्थ्यो ।।
या त मेरो बाटो छेक्ने जुलुस हुनुपर्थ्यो ।।

गुलेलीले निशान साँध्छौ ताक्छौ मेरो मुटु ।
छाती खोल्थेँ तिम्रो हातमा कार्तुस हुनुपर्थ्यो ।।

एऽ गलैँचा पो बिच्छाएछौ झुक्कियौ कि कुन्नि ?
मैले टेक्ने पाइलै पिच्छे एम्बुस हुनुपर्थ्यो ।।

हजार ब्रत गर्न परोस, कठोर तपस्या होस् ।
जे माग्यो त्यै दिने दैब कञ्जुस हुनुपर्थ्यो ।।

'बाला' मर्छ, मर्नै पर्छ 'आवाज' कहाँ मर्छ ?
इर्ष्या संगालेर राख्न सन्दुस हुनुपर्थ्यो ।।
23/06/2012‬‬

गजलः सास अड्की रह्यो

गजलः सास कतै अड्की रह्यो
¤आवाज शर्मा¤

हो समय घर्किदैथ्यो सास कतै अड्की रह्यो ।
मुस्कुराई बस्यौ उता, यता मुटु धड्की रह्यो ।।

म भीडको त्यो हिस्सा हूँ सारा संसार सँगै हुन्छ ।
एक्लै थिएँ त्यहीँ कतै तिम्रो साथ खड्की रह्यो ।।

बाहिर हाँस्नु एउटा कुरा आफैलाई ढाट्नु कति
आँखा बर्से सास रुक्यो मन भित्रै मन पड्की रह्यो ।।

तिमी भन्छौ आऊ रमौँ यो बादल, यो बर्खासँगै
म भोग्दैथेँ बिना मौसम मेरो आकाश चड्की रह्यो ।।

हत्केलामा कोरिएका रेखा हेर्दै फकाउँछु ।
आफ्नै भाग्य सम्हालेर राखूँ भन्दा भड्की रह्यो ।।
23/06/2012‬‬