गजलः र ऊ मर्‍यो

गजलः र ऊ मर्‍यो
¤आवाज शर्मा¤

सबै भन्थे केही पियो र ऊ मर्‍यो ।
म बुझ्थेँ ऊ भोकै थियो र ऊ मर्‍यो ।।

सहेकै हो छाती भरी अभाव त ।
गढ्यो आशै छेड्ने सियो र ऊ मर्‍यो ।।

भुले तिनले ऊबाट जो उज्यालिए ।
सलेदो भै बाल्यो दियो र ऊ मर्‍यो ।।

लडे जित्छौँ हर युद्धमा रहर छरे ।
त्यही भ्रान्ती फल पर्खियो र ऊ मर्‍यो।

गरीबीले आवाज दब्यो र तड्पियो ।
सँधै यस्तै मर्दै जियो र ऊ मर्‍यो ।
ISSS SSI S ISIS
बहरेः हजज मुसम्मन अखरब अबतर मक्बूज
ISS SSS ISI SIS
तबील अखरम मक्बुज अस्तर
26/04/2012

गजलः सयौँ घुम्ती

गजलः सयौँ घुम्ती
¤आवाज शर्मा¤

सयौँ घुम्ती उकालो हो मेरो जिन्दगी ।
हरेक मोड्मा भिरालो हो मेरो जिन्दगी ।।

उज्यालोमा रमाउँऽछौ के बुझ्छौ र खै ?
हूरी चल्दा दियालो हो मेरो जिन्दगी ।।

तिमी आफ्नो खुशी भेट्छौ जल्दाखेरि म ।
म बाती हूँ उज्यालो हो मेरो जिन्दगी ।।

छु खोज्दैमा हराएको आफ्नै स्वाभिमान् ।
र आफैमा तुँवालो हो मेरो जिन्दगी ।।

कठै भन्दै छुरा धस्ने मेरै छातीमा ।
पराईको अँगालो हो मेरो जिन्दगी ।।
ISSS ISSS SS SIS
बहर: मुजारे महजुफ अखरम
28/04/2012

गजलः जिन्दगी बहार हो

गजलः जिन्दगी बहार हो
¤आवाज शर्मा¤

जिन्दगी बहार हो र पो छल्कियो ।
माधुरी सुवासमा कोही पल्कियो ।।

खै कहाँ कहाँ थियौ यहाँ भेटियौ ।
चाहमा उमङ्गको दियो सल्कियो ।।

ढुक्ढुकी बढ्यो यसै तिमी भेटिँदा ।
लाजले नजानिदो नजर ढल्कियो ।।

खोज्दथेँ म फूलमा छु या पातमा ।
शीत भै अधर भरी नशा टल्कियो ।।

चाँदनी तिमी कहाँ, म 'बाला' कहाँ ?
हातमै टिपू कि झैँ रहर झल्कियो ।।
SISI SISI SSIS
बहरे जदीद मक्फूफ/कबीर मुतव्वी
01/04/2012

गजलः केही फेरिएन

गजलः केही फेरिएन
¤आवाज शर्मा¤

उस्तै रह्यो गाउँबस्ती आँगन फेरिएन ।
सपनाहरू फेरिदैछन् जीवन फेरिएन ।।

बन्दै भुरे टाकुरेका रैती फेरि फेरि ।
राजाहरू मात्र बद्ल्यौँ सासन फेरिएन ।।

उस्तै दमन त्रास उस्तै के पो बद्लियो र ?
रोप्छौँ सँधै युद्धको शूल क्रन्दन फेरिएन ।।

युगदेखिको दासता यो डस्छ रुप फेरेर ।
गाँठा अनेक पल्ट फेर्र्यौँ बन्धन फेरिएन ।।

हाम्रै रहरमाथि चढ्दै खेले हाम्रै शिकार ।
रुप फेरिए साध्यका खै! साधन फेरिएन ।।
31/03/2012
SSIS SISS SS SISS
बहरे मुजास मक्तुअ