गजलः खबर उही थियो

गजलः खबर उही थियो
¤आवाज शर्मा¤

राज मात्रै फरक थिए नजर उही थियो ।
दृष्य मात्रै फरक थिए खबर उही थियो ।।

लाग्छ प्रत्येक प्रहारको म नै जवाफ हूँ
घात मात्र फरक थिए असर उही थियो ।।

भीडसंगै सराबरी अलग कथा ब्यथा ।
स्वप्न मात्रै फरक थिए शहर उही थियो ।।

पुग्नु टाढा थियो कतै पराइ झैँ थियौँ ।
यात्रु मात्रै फरक थिए सफर उही थियो ।।

आगो झोसी सँधै यता उता निभाउँथ्यौ ।
काम मात्रै फरक थिए कदर उही थियो ।।
SIS SIS ISIS ISIS
बहरः रमल महजूफ मक्बूज/हजज अस्तर मक्बूज
15/03/2011

गजलः हार्नेलाई सोध

गजलः हार्नेलाई सोध
¤आवाज शर्मा¤

जिन्दगीको मूल्यऽ हार्नेलाई सोध ।
भूमरीमा आफै पार्नेलाई सोध ।

डुब्न सक्छन् आशा, चल्छ आँधी हूरी ।
तिर्सनाको डुंगा तार्नेलाई सोध ।

प्रेमभित्रै धोका, बाध्यता वा इच्छा ?
फूलसंगै काँढा सार्नेलाई सोध ।।

मर्म के हो फूलको ? धर्म के ले हुन्छ ?
पुज्छु भन्दै भैँमा झार्नेलाई सोध ।

रेट्न सक्छौ घाँटी, थुन्न सक्छौ आवाज!
ढाल्न सक्छौ आस्था ? मार्नेलाई सोध ।।
SISS SS SISS SS
बहरे मदीद मक्तुअ
11/03/2012

गजलः कहीँ छ होला र ?

गजलः कहीँ छ होला र ?
¤आवाज शर्मा¤

सोध्छौ तिमी अझै तर्ने जङ्घार कहीँ छ होला र ?
देशै डुबे यो झैँ ठूलो मझधार कहीँ छ होला र ?

मीठा वचन, सफा पहिरन, चिल्लो बदन हजुरकै भो
सोँचै कुरुप छोपौँ भन्दा श्रृङ्गार कहीँ छ होला र ?

कस्तो लुछा-चुँडी हो यो घर पोलेको खरानीमा
त्यसमा सरी मुनाफाको व्यापार कहीँ छ होला र ?

उन्माद जो, छ सत्तामा सम्पत्तिको र शक्तिऽको ।
आफ्नैको खून नपिऽएको दरवार कहीँ छ होला र ?

धामी उही, उही बोक्सी यो राष्ट्रको अहोभाग्य ।
साँच्चै भनूँ ? मेरै जस्तो सरकार कहीँ छ होला र ?
(SSIS ISSS)x2
05/03/2012

गजलः बिधाताले

गजलः बिधाताले
¤आवाज शर्मा¤

अस्तित्वको युद्ध चल्यो गुहार माग्यो विधाताले ।
सबैभन्दा मुर्ख आफ्नै नाम राख्यो विधाताले ।।

लुट्यो चोर्‍यो ढाँट्यो ठग्यो डरायो र मन्दिर पस्यो ।
सिक्का राखी ढोग्दा उस्ले भीख ठान्योविधाताले ।।

मिल्किएको ढुंगो टिपी फूल चढायो बटुवाले ।
त्यहीँ परेवा बलि दिदा विवेक माग्यो विधाताले ।।

पाखण्डी र आडम्बरी भक्तहरू गला थिच्छन् ।
इमान्दार को ? प्रश्न उठ्दा नास्तिक छान्यो विधाताले ।।
20/09/2011

गजलः आफू परी सयौँ टुक्रा

गजलः आफू परी सयौँ टुक्रा
¤आवाज शर्मा¤

आफू परी सयौँ टुक्रा छायाँ जुट्यो यसैपाली ।
सोध्दै थिएँ म को हूँला ? ऐना फुट्यो यसैपाली ।।

दीयो बल्यो जल्यो बाती सोच्दैथिएँ ढल्यो राती ।
हूरी बन्यो निधार मेरै, आयो चुट्यो यसैपाली ।।

आफ्ना हुँदा सबै टाढा माया कतै थियो गाढा ।
नाता टुट्यो सहेकै हूँ दिऽलै टुट्यो यसैपाली ।।

छाडी कतै गए झैँ भो छाती चिरा भए झैँ भो ।
ती हात छुटे छुटून् भन्थेँ साथै छुट्यो यसैपाली ।।

हूँ भन्दथ्यो असल साथी बिश्वास थियो उसै माथि ।
जस्को परेँ भरोशामा उस्ल्यै लुट्यो यसैपाली ।।
SSIS ISSS, SSIS ISSS
बहरेः खफीफ मक्तुअ मख्बून मुदाइफ