गजलः परीजस्तै उनी

गजलः परीजस्तै उनी
¤आवाज शर्मा¤

कुनै मीठो कहानीकी परीजस्तै उनी ।
खडेरीमा सितल दिन्छिन् झरीजस्तै उनी ।।

कलेजीमा सजाएको कुनै तश्विर भरी ।
समर्पणका कथा लेख्छिन् खरीजस्तै उनी ।।

सखारैमा कुनै मीठो सुवास फिँजाउँदै ।
बिहानीकी उषा डाक्छिन् चरी जस्तै उनी ।।

उनी हुन्नन् कतै केही नपुग्दो झै हुने ।
पछ्यौरीमा सजाएको जरीजस्तै उनी ।।

कतै बर्खे खोलीजस्तो समुद्रै झैँ कतै ।
म पो आधी घडाजस्तो भरीजस्तै उनी ।।
30/06/2011

गजलः नभेटिन सक्छ

गजलः नभेटिन सक्छ
¤आवाज शर्मा¤

बह जम्ने मनको खाडल नभेटिन सक्छ ।
वर्षा हुन्छ तर बादल नभेटिन सक्छ ।

हरेक पटक निशानामै तीर चलेको छ ।
भित्री घाउ हो बाहिर घायल नभेटिन सक्छ ।।

हरेक साँझ प्रतिक्षामा नबर्सिनू आँखा ।
सँधै आशु पुछ्ने आँचल नभेटिन सक्छ ।।

म नै रुन्छु तिमी नरोऊ श्रृङ्गार बिग्रिएला ।
त्यो आँखामा मिल्ने गाजल नभेटिन सक्छ ।।

चुँडिएको मन जोड्न सक्छौ भने जोड ।
यति माया गर्ने पागल नभेटिन सक्छ ।।
30/06/2011

गजलः तुलना कहाँ

गजलः तुलना कहाँ ?
¤आवाज शर्मा¤

रुप मञ्जरी फुल कोपिला उनको गरूँ तुलना कहाँ ?
म त चम्किए पनि शीत हूँ जुनको गरूँ तुलना कहाँ ??

रसमाधुरी चुहिहाल्छ झैँ अब ओठको नगरौँ कुरा ।
मरुभूमि नै सितलो हुने गुनको गरूँ तुलना कहाँ ??

रजहाँस झै जब हिड्दछ्यौ म त मुग्ध भै किन सुन्छु हँ ?
बगेको नदी अडियो उहीँ धुनको गरूँ तुलना कहाँ ?

एकतर्फ यो बरसातमा नभको घटा छरपस्ट छ ।
र कपाल यो लहराउँदो कुनको गरूँ तुलना कहाँ ??

के छ राज त्यो ? यति सुन्दरी कसरी भयौ किन बोल्दिनौ ?
मधुरा भए हर रत्न लौ सुनको गरूँ तुलना कहाँ ?

रुप मञ्जरी फुल कोपिला उनको गरूँ तुलना कहाँ ?
म त चम्किए पनि शीत हूँ जुनको गरूँ तुलना कहाँ ??
29/06/2011

गजलः यो राज मसंग

गजलः यो राज मसँग
¤आवाज शर्मा¤

नसोधे भो मौनताको यो राज मसंग ।
म माग्दैछु खोसिएको आवाज मसंग ।।

कतै दीयो बाल्न खोज्दा सम्भावनाको ।
बन्यो आँधी फेरि उस्तै नाराज मसंग ।।

अझै जिउँदो लास जस्तै प्रहार खपूँ कि ?
दुख्यो भन्दा हाँस्छ मेरै रीवाज मसंग ।।

उज्यालै हो हिड्न जाने बाटो सहज छ ।
खबरदारी गर्छ आफ्नै अन्दाज मसंग ।।

समेली यी लाख टुक्रा सम्बेदनाका
यही छाती बन्छु भन्थ्यो कोलाज मसंग ।।

नसोधे भो मौनताको यो राज मसंग ।
म माग्दैछु खोसिएको आवाज मसंग ।।

25/06/2011

गजलः बल्न बाँकी के छ

गजलः जल्न बाँकी के छ ?
¤आवाज शर्मा¤

उम्लिएका आँशु झर्छन् जल्न बाँकी के छ ?
ढुक्ढुकीमै बल्छ आगो बल्न बाँकी के छ ??

पूर्णिमाको जून हो कि रात पग्ली झर्छ ।
साँझ संगै आश ढल्छन् ढल्न बाँकी के छ??

घात धोका चल्छ उस्तै चल्छ खोटो नोट ।
सत्य मात्रै चल्न छाड्यो चल्न बाँकी के छ ??

जिन्दगीमा जे छ आफ्नो फेरि बाजी राख्छु ।
चाल उस्कै दाउ उस्कै छल्न बाँकी के छ??

उम्लिएका आँशु झर्छन् जल्न बाँकी के छ ?
ढुक्ढुकीमै बल्छ आगो बल्न बाँकी के छ ??
05/06/2011

गजलः बल्दा कस्तो मजा आयो

गजलः बल्दा कति मजा आयो
¤आवाज शर्मा¤

अँधेरीमा अहा दीयो बल्दा कस्तो मजा आयो ।
सलेदोलाई सोधेका छौ जल्दा कस्तो मजा आयो ??

बगैचामा पुगेजस्तै उस्तै उस्तै सुवास तिम्रो ।
बतासलाई सोधेका छौ चल्दा कस्तो मजा आयो ??

अनयासै लुकी हेर्दा चोरी पक्ड्यौ म सर्माएँ ।
नजरलाई सोधेका छौ ढल्दा कस्तो मजा आयो ??

सयौँ यस्ता इशारा छन् मैले ढाँटे बुझ्यौ तिम्ले ।
बहानालाई सोधेका छौ छल्दा कस्तो मजा आयो ??

अँधेरीमा अहा दीयो बल्दा कस्तो मजा आयो ।
सलेदोलाई सोधेका छौ जल्दा कस्तो मजा आयो ??
03/06/2011

गजलः लामो यात्रा

गजलः लामो यात्रा
¤आवाज शर्मा¤

लामो यात्रा पाइलै पिच्छे उल्झन भेटेँ मैले ।
आफूभित्रै आफ्नै दुश्मन् त्यो मन भेटेँ मैले ।।

आफ्नो स्वार्थी उत्कण्ठालाई चिन्नै गाह्रो पर्दा ?
आफ्नै घाँटी रेट्ने कैयौँ सज्जन भेटेँ मैले ।।

खुल्ला आकास भित्रै बन्दी भीडमा एक्लो भन्थेँ ।
हेर्दा हेर्दै आफ्नै आँगन् निर्जन भेटेँ मैले ।

साँचो माया सीमा कोरी ब्याख्या गर्ने को हो ?
पश्चातापमा लाखौँ दुःखी जीवन भेटेँ मैले ।।

मेरो हिम्मत मेरो आँटको चर्चा ठूलै हुन्थ्यो ।
तर्सेँ आफै आँखै सामू दर्पन भेटेँ मैले ।।
03/06/2011

गजलः उल्झन भेटेँ मैले

गजलः उल्झन भेटेँ मैले
¤आवाज शर्मा¤

हजार बाटा सबै तिर उल्झन भेटेँ मैले ।
आफैभित्र नअटेको त्यो मन भेटेँ मैले ।।

आफ्नै क्रुर अभिष्टलाई नचिनेर रोजै ।
आफैलाई बली दिने सज्जन भेटेँ मैले ।।

भीड बीच एक्लो हुनु एक्लै एक्लै हाँस्नु ।
आफ्नै आकास आफ्नै लागि कफन भेटेँ मैले ।।

साँचो माया बाँधिएन परिभाषा भित्र
ब्याख्या गर्दै रुँने लाखौँ जीवन भेटेँ मैले ।।

मलाई मेरै आँट माथि ठूलो गौरब थियो ।
कहालिएँ आँखै अघि दर्पन भेटेँ मैले ।।

02/06/2011