गजलः मेरी मञ्जरी

गजलः मेरी मञ्जरी


¤आवाज शर्मा¤



यसै गर्छ्यौ घरी घरी मेरी मञ्जरी

बहाना नै हजार थरी मेरी मञ्जरी


बोल्दिनँ भो अब भन्छ्यौ आज रिसाउँछ्यौ

खुल्छ्यौ भोली जुन सरी मेरी मञ्जरी


कहिले गाली गर्छ्यौ कहिले त्यसै घुर्क्याउँछ्यौ

कहिले भन्छ्यौ मर्छु धरी मेरी मञ्जरी


सँगै पनि कहिलै छैनौ कहिल्यै छुट्टिन्नौँ

चखेवा झै जोडी चरी मेरी मञ्जरी


कल्पना मैँ आउँछ्यौ जान्छ्यौ टाढा विलाउँछ्यौ

बालामनकी स्वप्न परी मेरी मञ्जरी

गजलः परीका कथा

गजलः परीका कथा


¤आवाज शर्मा¤





चरी झै पखेटा हुने परीका कथामा तिमी ।

परी झै उडेको सुनेँ चरीका कथामा तिमी ।।



नजरमा झुलेका सबै रहरमा तिमी नै थियौ ।

मजस्तै पछ्याउने सयौँ थरीका कथामा तिमी ।।



पछ्यौरी समात्दै सदा हराउँथ्यौँ कता हो कता ।

बज्यैले सुनाउने मिठा हरीका कथामा तिमी ।।



खडेरी परे झैँ थियो सुसाको अँधेरी मन ।

पियासै नमेटी गयौ झरीका कथामा तिमी ।।



कसोरी भुलौ ती अहा म बाला दिनैका कुरा ।

झझल्को भरी छ्यौ सुधा सरीका कथामा तिमी ।।

गजलः सराबी म

गजलः सराबी म


¤आवाज शर्मा¤





रस छञ्जेल निचोरिएँ त्यसैले त कागती म ।

तिम्रै जित सँधैभरी हार हुने सम्मती म ।



पिएँ रहर रहरैमा आज पिउनै पर्ने भयो ।

तिम्रो एकै नजरपानको हरदिन अम्मली म ।।



तिम्रो माया मुटुभित्र दुखिर'ने घाऊ भयो ।

कहिल्यै निको नहुने यो दिर्घकाली बिमारी म ।।



शर्तमाथि शर्तहरू तिम्रा छुट्ने बहानामा ।

तिमी सँधै जाती रह्यौ , दुनियाँको बेमानी म ।।



भुल्न कहाँ सकिन्थ्यो र ? प्याला भित्रै तिमी हुन्छ्यौ ।

बहाना हो बिर्सने त बाह्रमासे सराबी म ।।

गजलः हाम्रो कथा

गजलः हाम्रो कथा

¤आवाज शर्मा¤

.

तिम्रो मेरो कथा कस्तो तप्केनीको आलीजस्तो

कहिल्यै फल नलागेको ओसेपको बालीजस्तो

.

जताततै फूलेका छन् खुशीहरू बगैँचामा

हराभरा बोट भन्छ्यौ फूल झरेको डालीजस्तो

.

आफन्त र पराई भन्नु हेराइ मात्र फरकफरक

मलाई त्यही अर्ती हुन्छ तिम्लाई त्यही गालीजस्तो

.

एउटै हुन्छ नाप्ने बस्तु एउटै हो नापो तर

मलाई आधा भरी लाग्छ तिम्लाई आधा खालीजस्तो

.

आऊ अब मिलाउनुछ हाम्रा फरक मनहरू

हामी फूल बनेमात्रै हाम्रो माया मालीजस्तो

गजलः छ र आमा ?

गजलः काँ छ र आमा

¤आवाज शर्मा¤

भन्देऊ न ईश्वर काँ छ र आमा

दुःखीको घरमा आ छ र आमा

परदेशी खसम सौतेली सासु

सुस्केरा हाल्न नि भा छ र आमा

सियो झैँ आउँछन् धारिला बचन

विरह यसै ला छ र आमा

नरोऊँ भन्दा भक्कानु छुट्छ

न्याउलीले त्यसै गा छ र आमा

भोक र तिर्खा नुनिला आँशु

मलाई झैँ कल्लाई था छ र आमा

गरेर भाकल चढाई फूल

कसैले ईश्वर पा छ र आमा